प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता; प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको मिस्रीको धारणा

काठमाडौं, कात्तिक १९ गते । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका थिए । उनले दुई देशको समझदारीमा चाँडै मिति तय गरी भ्रमण हुने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणलाई मुख्य प्राथमिकतामा राखेर त्यसको आवश्यक तयारी, भ्रमणका क्रममा तय गरिने एजेन्डालगायतका विषयमा सामान्य छलफल भएको बताइएको छ ।
नेपालमा हालै आएको भोटेकोशी बाढीपछिको विपत्तिप्रति विदेश सचिव मिस्रीले दुःख व्यक्त गरेका थिए । विपत्तिको समयमा भारत सधैँ नेपालको साथमा रहेको र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न तयार रहेको धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले भारत सरकारका तर्फबाट नेपालको विकास, समृद्धि र आपसी हितका क्षेत्रमा निरन्तर सहयोग तथा सहकार्य जारी रहने बताएका थिए ।
नेपाल र भारतबिचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउने विषयमा दुवै पक्षबिच सकारात्मक कुराकानी भएको छ । छलफलका क्रममा ऊर्जा, व्यापार, पूर्वाधार विकास तथा कनेक्टिभिटीजस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य बढाउने विषयले भ्रमणमा प्राथमिकता पाउनेबारे पनि कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बालेनको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने प्रस्तावित मिति रहेको छ । यद्यपि, दुई देशले हालसम्म भ्रमणको मिति औपचारिक रूपमा घोषणा गरेका छैनन् । विदेश सचिव मिस्री स्वदेश फर्केपछि आपसी सल्लाहमा मिति घोषणा गरिने बताइएको छ ।
विदेश सचिव मिस्रीले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग विभिन्न आयोजनाबारे पनि छलफल गरेका छन् । ती आयोजना प्रधानमन्त्री बालेनको भारत भ्रमणका एजेन्डा बन्न सक्नेछन् । परराष्ट्रमन्त्रीसँगको छलफलमा पनि प्रधानमन्त्री शाहको भ्रमणका एजेन्डाबारे कुराकानी भएको थियो ।
दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै छलफल गरेका थिए। विदेश सचिव मिस्री बिहीबार नै स्वदेश फर्कँदै छन् ।