बर्दियामा मंसिर पहिलो साता खाद्यले धान खरिद गर्ने

यज्ञप्रसाद सापकोटा / बर्दिया, कात्तिक २० गते । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले मंसिरको पहिलो सातामा धान खरिद गर्ने भएको छ । ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले आठ वटै पालिकाबाट धान खरिद गर्ने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले बर्दिया जिल्लाका लागि गत वर्षजस्तै यस वर्ष पनि तीस हजार क्विन्टल धान खरिदका लागि अनुमति आएको बताउनुभयो ।
प्राथमिक खरिद समितिले बिचमा तिहार बिदा परेको हुनाले मंसिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको छ । आठवटा पालिकामा प्रतिपालिका तीन हजार क्विन्टलका दरले खरिद गर्ने योजना रहेको कम्पनीका प्रमुख पाण्डेले बताउनुभयो । २४ हजार क्विन्टल धान पालिकाबाट खरिद गर्ने र बाँकी धान कम्पनीको हाताभित्र नै खरिद गर्ने योजना रहेको उहाँको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्ष कात्तिक १९ गतेदेखि धान खरिद सुरु गरेको थियो । बर्दिया जिल्लाको आठवटा पालिकामध्ये राजापुर, गेरुवा, बारबर्दिया, बाँसगढी, बढैयाताल र गुलरिया गरी छ वटा पालिकाबाट ३० हजार दुई क्विन्टल धान खरिद गरेको थियो ।
सरकारले यस वर्षको लागि मोटो धानको तीन हजार छसय ६० रुपियाँ र मध्यम धानको तीन हजार आठसय ६० रुपियाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ । गत बर्ष मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको थियो । मध्यम धान प्रतिक्विन्टल तीन हजार छसय २८ रुपियाँ तोकेको थियो ।
खाद्यले धान खरिद ढिला गर्दा किसानहरूले यस वर्ष पनि सस्तोमा धान बेच्न बाध्य भएका छन् । स्थानीय व्यापारीहरूले किसानसित मोटा धान दुई हजार आठसय रुपियाँमा खरिद गरिरहेको गुलरिया नगरपालिका वडा २ बालापुरका लोकप्रसाद भुषलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खाद्यले ढिलो खरिद गर्दा व्यापारीले मनोमानी रुपमा मूल्य राखेर धान खरिद गरिरहेका छन् ।” धान भण्डारण गर्न नसक्ने किसानले धान बिक्री गरिसकेको उहाँले बताउनुभयो ।