भैँसीपालनबाट जोडे ट्याक्टर र जग्गा

सन्तोष दहित / दाङ, कात्तिक २१ गते । कुनै समय घरपरिवारको उपभोगका लागि मात्रै भैँसी पाल्दै आउनुभएका राजपुरका प्रेमकुमार यादव अहिले व्यावसायिक भैँसीपालनबाट आर्थिक रूपमा सबल बन्नुभएको छ । आठ वर्षअघि चारवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसायले अहिले विस्तार पाएको छ । दूध बिक्रीबाट भएको आम्दानीले उहाँले ट्याक्टर र जग्गासमेत जोड्नुभएको छ ।
पुर्ख्यौली पेसाका रूपमा भैँसीपालन गर्दै आउनुभएका यादवले आठ वर्षअघि यसलाई व्यावसायिक रूप दिने सोच बनाउनुभयो । तर, व्यवसाय गर्न आवश्यक पुँजीको अभाव थियो । आफूसँग पर्याप्त रकम नभएपछि उहाँ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सदस्य बन्नुभयो । संस्थामा नियमित बचत गर्दै आउनुभएका उहाँले एक दिन आफ्नो व्यावसायिक योजना संस्थाका कर्मचारीलाई सुनाउनुभयो । कृषि तथा पशुपालनका क्षेत्रमा कर्जा लगानी गर्दै आएको संस्थाले उहाँको योजना स्वीकार गर्दै चार लाख ५० हजार रुपियाँ कर्जा उपलब्ध गरायो । उक्त रकमबाट थप चारवटा भैँसी खरिद गरेपछि यादवले भैँसीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभयो । यादवले भन्नुभयो “कर्जा लिन धितो राख्नुपर्छ होला भन्ने लागेको थियो । तर, संस्थाले बिना धितो कर्जा पनि दिदो रहेछ । त्यसपछि व्यवसाय विस्तार गर्न सहज भयो ।”
उहाँका अनुसार सुरुमा चारवटा भैँसी मात्रै थिए । ती भैँसीको दूध घरपरिवारमै उपभोग हुन्थ्यो । कर्जा लिएर थप भैँसी किनेपछि दूध बिक्री गर्न थाल्नुभयो । त्यसपछि आम्दानीको स्रोत पनि बढ्दै गयो । अहिले यादवको गोठमा १७ वटा भैँसी छन् । तीमध्ये छवटा दुहुना छन् भने तीनवटा ब्याउने अवस्थामा छन् । छवटा भैँसीबाट दैनिक ३५ लिटर बढि दूध उत्पादन हुने गरेको छ । उत्पादित दूध प्रतिलिटर ९० रुपियाँका दरले बिक्री गर्दै आउनुभएका यादवले केही दिनपछि दूध उत्पादन अझ बढ्ने बताउनुभयो । दूध बिक्रीबाट हुने आम्दानीमध्ये खर्च कटाएर मासिक ७० हजार रुपियाँभन्दा बढी बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
यही आम्दानी बचत गरेर उहाँले करिब २० लाख रुपियाँ मूल्य पर्ने चार कठ्ठा जग्गा र छ लाख रुपियाँको ट्रयाक्टर खरिद गर्नुभएको छ । उहाँले भन्नुभयो “दूध बेचेरै जग्गा र ट्याक्टर किने । अहिले ट्याक्टर भाइले चलाउछ, म भैँसीपालन र दूध बिक्रीमै लागेको छु ।” भैँसीपालनबाट दूध मात्रै नभई पाडापाडीबाट समेत आम्दानी हुने गरेको यादवले बताउनुभयो । भैँसीको सङ्ख्या बढ्दै जाँदा आवश्यकताअनुसार केही भैँसी तथा पाडापाडी बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्धक कालिदास चौधरीले यादवलाई कृषि तथा पशुपालन कर्जाअन्तर्गत ऋण उपलब्ध गराइएको बताउनुभयो ।
संस्थाले सदस्यको आवश्यकता र व्यवसायको प्रकृतिअनुसार विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । संस्थाको नियमअनुसार सात लाख रुपियाँसम्मको कर्जा बिना धितो उपलब्ध गराउने व्यवस्था रहेको चौधरीले बताउनुभयो । सोभन्दा बढी रकम कर्जा लिन चाहेमा भने धितो आवश्यक पर्ने उहाँले बताउनुभयो ।