धान खरिदको सीमा बढाउन माग

नेपालगन्ज, कात्तिक २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष धान खरिदको सीमा आधा घटाएर पठाउँदा बाँकेमा धान खरिद सुरु हुन सकेको छैन ।
गत वर्ष बाँकेमा २० हजार क्विन्टल धान खरिद गरेको कम्पनीले यस वर्ष १० हजार क्विन्टल मात्रै कोटा निर्धारण गरेर पठाएकाले किसानले यसमा आपत्ति जनाएपछि धान खरिद सुरु हुन सकेको छैन । कम्पनीको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार कोटा बढाउन किसानले माग गर्न गालेपछि खरिद प्रक्रिया सुरु भएको छैन ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको प्राथमिक खरिद समितिको बैठकले कम सीमाबाट धान खरिद सुरु गर्दा समस्या हुने जनाएपछि अहिलेलाई काम सुरु नभएको लामिछानेले जानकारी दिनुभयो ।
सरकारले कोटा आधा घटाएर पठाएपछि धान खरिद सुरु गर्न माग गर्दै आएका जिल्लाका अधिकांश किसान निराश बनेका छन् ।