बाली जोगाउन बारीमा सिसी क्यामरा

अर्घाखाँची, कात्तिक ३० गते । बारीमा पाक्दै गरेको खेती र फलफूल बाँदरबाट जोगाउन किसानले अनेक उपाय अपनाउँदै आएका छन् । कतै गुलेली, होहल्ला, कर्नाल र ढुङ्ग्रो फुकेर त कतै भाँडाकुँडा बजाएर तथा चौकीदारी गरेर बाँदर धपाउने गरिएको छ । यति गर्दा पनि बाँदरको हैरानी भने घटेको छैन । सन्धिखर्क नगरपालिका–८, किमडाँडाका पिताम्बर भुसालले भने बाँदर, बँदेल जस्ता वन्यजन्तु तथा चराचुरुङ्गीबाट बाली जोगाउन नयाँ प्रविधिको प्रयोग गर्नुभएको छ । उहाँले आफ्नो बारीको अन्न र आँप जोगाउन सिसी क्यामेरा जडान गर्नुभएको छ ।
बारीमा बाँदर प्रवेश गर्न लागेपछि क्यामराले आफ्नो मोबाइल र ल्यापटपमा जानकारी प्राप्त हुने र अवस्था हेरेर तत्काल बाँदर धपाउन बारीतर्फ दौडिनुहुन्छ ।
“बिहानदेखि साँझसम्म बारीको छेउमा चौकीदारी गरेर मात्र भएन, घर र मेलापातको काम पनि गर्नु पर्छ,” भुसालले भन्नुभयो, “बाँदर बारीमा पस्न थालेको जानकारी पाउनासाथ होहल्ला गर्दै दौडेर लखेट्छु ।” एक बिघा क्षेत्रफलमा उहाँले तीन वटा सिसी क्यामेरा जडान गर्नुभएको छ । बाँसको खम्बामा राखिएका क्यामराले बारीको अधिकांश क्षेत्र निगरानी गर्छन् ।
भुसालको बारीमा ५० वटा आँपका बोट छन् । चार वर्षदेखि फल्दै आएका ती बोटबाट यस वर्ष करिब ५० क्विन्टल आँप उत्पादन भएको थियो । आँपबाट वार्षिक चारदेखि छ लाख रुपियाँसम्म आम्दानी हुने उहाँले बताउनुभयो । मकैबारीमा सिमी, बोडी, फर्सी र काँक्रोलगायतका बाली पनि लगाइएको छ ।
सिसी क्यामरा जडान गर्नुअघि परिवारका सदस्यले पालैपालो बारीमा बसेर बाँदर धपाउनुपथ्र्यो । अहिले प्रविधिको प्रयोग गरेपछि चौकीदारी गर्नुपर्ने बाध्यता हटेको छ । रातिको समयमा पनि क्यामरा सक्रिय रहने र बारीमा मान्छे वा वन्यजन्तु प्रवेश गरे मोबाइलमा सूचना आउने उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीका क्रममा सात वर्ष विदेशमा बसेका भुसालले विदेशमा सिकेको अनुभव तथा युट्युबबाट जानकारी लिएर सिसी क्यामरा जडान गर्नुभएको हो । अहिले उहाँका दाइ ठाकुर भुसालसहित सिङ्गो परिवार कृषि कर्ममा लागेको छ । “अब विदेश जान्नँ, कृषि उद्यममै भविष्य देखेको छु,” उहाँले भन्नुभयो, “आँपखेती विस्तार गरेर पाँच सय क्विन्टल फल दिने आँपका बोट पुर्याउने योजना छ ।”
अहिले बाँदर र बँदेलले मकैमा क्षति पु¥याइरहेका छन् । बँदेल तथा मानिसको प्रवेश रोक्न भुसालले बारी वरिपरि बार पनि लगाउनुभएको छ । बाँदर रुखबाट हाम फालेर बारीमा पस्ने भए पनि बारका कारण बँदेललाई रोक्न सहज भएको उहाँको भनाइ छ ।