किवी खेतीमा रमाउँदै निसीखोलाका घर्ती

नवराज नेपाली / बागलुङ, मङ्सिर २ गते । वैदेशिक रोजगारीका लागि जापान पुग्नुभएका निसीखोला गाउँपालिका —४ थापागाउँका लिलाबहादुर घर्तीलाई नेपालको माटो र कृषि कर्मप्रतिको मोहले लामो समय विदेशमा बस्न दिएन। राम्रो आम्दानी र अवसरको खोजीमा जापान पुग्नुभएका उहाँ एक वर्षमै स्वदेश फर्किएर पुनः कृषि कर्ममा सक्रिय र सफल कृषकको रुपमा चिनिनुभयो ।
निसीखोला गाउँपालिका —४ थापागाउँस्थित विस्मारेमा उहाँको ‘अमृत फलफूल तथा तरकारी पशुपन्छी पालन कृषि फर्म प्रालि’ सञ्चालनमा छ। घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गर्नुभएको थियो। भारतको हिमाञ्चल प्रदेशमा बसोबास गर्ने क्रममा स्याउ र किवी खेतीबारे अध्ययन तथा अनुभव हासिल गर्नुभएका उहाँले नेपाल फर्किएपछि करिब १० रोपनी क्षेत्रफलमा किवी खेती सुरु गर्नुभयो ।
कृषिमा केही वर्षको अनुभव हासिल गरेपछि उहाँ वैदेशिक रोजगारीका लागि जापान पुग्नुभएको थियो । दुई वर्षअघि जापान पुगेका घर्ती त्यहाँ लामो समय बस्नु भएन । मनमा आफ्नै गाउँको माटो, आफूले सुरु गरेको कृषि व्यवसाय र उत्पादनप्रतिको लगाव रहेकाले एक वर्षमै नेपाल फर्किएको उहाँको भनाइ छ । अहिले उहाँ पुनः आफ्नो कृषि फर्मलाई विस्तार र व्यवस्थित बनाउने अभियानमा जुट्नु भएको छ।
घर्तीले पछिल्लो समय फलफूल तथा तरकारी खेतीसँगै पशुपालनलाई पनि जोड दिने योजना बनाएको सुनाउनुभयो । घर्तीले बंगुरपालन गर्न आवश्यक भौतिक संरचना निर्माण गरिसकेको घर्तीको भनाइ छ ।
कृषि र पशुपालनलाई एकीकृत रूपमा अगाडि बढाउँदा उत्पादन लागत घटाउन र आम्दानी बढाउन सकिने उहाँको विश्वास छ। ‘कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ, त्यसैले कृषि र पशुपालनलाई सँगसँगै लैजाने योजना बनाएको छु’ घर्तीले भन्नुभयो “भारतको कृषि अनुभव, कृषि छोडेर जापान पुगेको भोगाइ अहिले माटोमा पोख्दैछु।”
घर्तीले किवी खेतीबाट वार्षिक करिब तीन लाख आम्दानी हुने गरेको बताउनुभयो । किवीका अतिरिक्त एउटा गाईपालन गरेर दुध बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले व्यावसायिक टिमुर खेती पनि गर्दै आउनुभएको छ । कृषि व्यवसायलाई विविधीकरण गर्ने घर्तीको लक्ष्य छ। घर्ती कृषि उद्यमी मात्र नभइ, स्थानीय जनप्रतिनिधि समेत भएर सामाजिक काममा सक्रिय हुनुहुन्छ । घर्ती निसीखोला गाउँपालिका —४ का वडा सदस्यका रूपमा सामाजिक काममा सक्रिय रहँदै आउनुभएको छ । जनप्रतिनिधिको जिम्मेवारीसँगै उत्पादन र उद्यमशीलताको क्षेत्रमा उदाहरणीय काम गर्ने घर्तीको लक्ष्य छ।
“१० रोपनीमा किवी लगाएको छु, टिमुर खेती विस्तारसँगै व्यावसायिक बंगुरपालन अघि बढाउन थालेको छु, जनप्रतिनिधि उत्पादनमा जोडिन आवश्यक छ” घर्तीले भन्नुभयो “आफ्नै गाउँ ठाउँमा कृषि र समाजसेवासँगै अघि बढाएको छु, अरुलाई उत्पादनमुखी बन भन्दैगर्दा पहिला आफू उतपादनसँग जोडिन आवश्यक हुन्छ ।”