प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत; विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मंसिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि भएको उक्त शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

उहाँहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारतमा हुनुहुन्छ ।

प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली आइपुग्नुभएको छ । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभयो । उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।

त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ ।

भ्रमणका क्रममा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

यस्तै, सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयु) आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले साँझ ६:०० बजे शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ ६:३५बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter