भारतीय सहयोग र हवाई मार्गको स्वागत गर्दै कांग्रेसले सोध्यो– ‘सीमाको विषय किन उठेन ?’

काठमाडौँ , मङ्सिर १२ गते। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले देखाएको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व र उत्तेजक भनी टिप्पणी गरेको हो ।

विगतमा लोकप्रियता कमाउन मात्रै ती विषय उठाइएको र त्यो नक्कली राष्ट्रवाद भएको आरोप लगाउँदै महामन्त्री प्रदीप पौडेलले भने, ‘कूटनीतिक संवादमार्फत ती विषयलाई निर्णायक रूपमा उठाउने अवसर पाउँदा समेत छलफलमै प्रवेश नगराई फर्कनुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गो पारेको छ।’ कथनी र करणीबिचको यो विरोधाभासले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वता उजागर गरेको ठहर कांग्रेसले गरेको छ।

भ्रमणअघि नै कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भ्रमणको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको स्मरण गराउँदै महामन्त्री पौडेलले भारतीय पक्षबाट नेपाली प्रधानमन्त्रीले पाएको आत्मीय स्वागत र राजकीय सम्मान दुई देशबिचको प्रगाढ, ऐतिहासिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्धको प्रतिबिम्ब भएको धारणा राखे। भ्रमणका क्रममा उच्चस्तरीय संवादको वातावरण बन्नु, महत्त्वपूर्ण सहमति जुट्नु र विगतका सहकार्यले निरन्तरता पाउनु सकारात्मक भए पनि सीमाजस्ता संवेदनशील विषयले उच्चस्तरीय वार्तामा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।

मङ्सिर ८ देखि ११ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिको बैठकका निर्णय शनिबार सार्वजनिक गर्दै कांग्रेसले भ्रमणका क्रममा भएका सहमतिमध्ये भैरहवा हवाई मार्ग ‘बी ३४५’ लाई दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई स्वागतयोग्य उपलब्धि मानेको छ।

नेपालको पर्यटन तथा समग्र आर्थिक विकाससँग जोडिएका विराटनगर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै थप हवाई प्रवेश मार्ग पाउनुपर्ने विषय आफूहरूले सन् २०१४ देखि नै निरन्तर उठाउँदै आएको दलको भनाइ छ।

यसैगरी २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा जस्तै यसपटक पनि भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि भारत सरकारले घोषणा गरेको कुल २४० अर्ब नेपाली रुपैयाँ (१५० अर्ब भारु) बराबरको विकास सहयोग प्याकेजलाई कांग्रेसले वर्तमान आवश्यकताका दृष्टिले महत्त्वपूर्ण ठानेको छ।

कुल सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको भन्दै यस आयोजनाका लागि कांग्रेसले भारत सरकारलाई धन्यवादसमेत दिएको छ।

त्यस्तै ऊर्जा तथा सम्पर्क सञ्जाल (कनेक्टिभिटी) का क्षेत्रमा हुँदै आएको सहकार्यका अतिरिक्त सन् २०२५ मा सुरु भएको आईआईटी मद्राससँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालमा आईआईटी क्याम्पस स्थापना, स्टार्टअप नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि कांग्रेसले स्वागत गरेको छ। विगतमा गरिएका कतिपय सहमति कार्यान्वयन नभई अलपत्र परेको स्मरण गराउँदै दलले यसपटकका सहमति कार्यान्वयनका लागि निरन्तर निगरानी राख्ने स्पष्ट पारेको छ।

भैरहवा हवाई मार्गका सम्बन्धमा नीतिगत सहमति जुटे पनि वास्तविक रूपमा दुईतर्फी उडान सञ्चालन गर्न आवश्यक प्राविधिक तथा सञ्चालन सम्बन्धी विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट कार्ययोजना र समय सीमा सार्वजनिक गर्नुपर्ने माग कांग्रेसले गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने आधार सुनिश्चित गर्न र बाँकी हवाई मार्ग प्राप्तिका लागि पहल थाल्न सरकारलाई सुझाइएको छ।

अर्कोतर्फ, भारतले घोषणा गरेको ठुलो रकमको विकास सहायता परिचालन राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी एवं परिणाममुखी हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ। अनुदान रकम खर्चिने क्षेत्र, सहुलियतपूर्ण ऋणका सर्त, परिचालन गरिने परियोजना, लगानीको उचित प्रतिफल (भ्यालु अफ मनी) को सुनिश्चितता र सार्वजनिक ऋणको दिगोपनाका विषयमा सरकारले संसद् र आम नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने माग राखिएको छ । शिक्षा, प्रविधि र जलवायु उत्थानशीलताका समझदारीलाई घोषणामा मात्र सीमित नराखी ठोस कार्यक्रम र समय सीमासहित कार्यान्वयनमा लैजानुपर्ने पौडेलले बताए।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter