जेनजी घाइते भन्छन्, ‘सुशासनयुक्त नेपाल हेर्न चाहन्छौँ’

सपना थामी / काठमाडौँ, भदौ २३ गते । गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालको सूचनामार्फत जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो २६ वर्षीय मदन कार्की । अहिले उहाँको बायाँ हात राम्रोसँग चल्दैन । त्यो बेला बायाँ हातको काखीमुनि गोली लागेकोले उहाँ घाइते अवस्थामा हुनुहुन्छ।

२०८२ भदौ २३ गतेको घटना सम्झिदै उहाँले भन्नुभयो, “त्यो दिन बानेश्वर संसद भवन परिसरमा आन्दोलन चर्किदै गयो र भिड थाम्न नसक्ने स्थिति भयो । केही अराजक तत्वहरुले भिड तोडे । ढुङ्गा–मुढा नगर ! भन्दा भन्दै पुलिसले अश्रु ग्याँस हान्न थाले । लगभग साढे १ बजेतिर बायाँ हातको काखीमुनिको नसामा मलाई गोली लाग्यो ।” जेनजी आन्दोलनमा घाइते भएकाहरु यतिबेला पीडादायी अवस्थाबाट गुज्रनुपरेको उहाँको भनाइ छ ।

उहाँ भन्नुुहुन्छ, “म फोटो, भिडियो इडिटिङको काम गर्थें । अहिले त डामाडोल नै छ । जे होस् एक हातले भए पनि इडिटिङको काम गरिराछु । हात पोलिरहन्छ । नसाको कारणले हात दुखिरहेको हुन्छ । सहिद हुनेहरु मरेर गए, हामी जिउँदो सहिद जसरी हरपल भोगेर बस्न परिरहेको छ ।”

यसैगरी, सञ्जीवकुमार झा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुनुपर्छ भन्ने मागका साथ जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । प्रदर्शनका क्रममा कालीमाटीमा प्रहरीले मरणासन्न हुनेगरी कुटेपछि सञ्जिव घाइते हुनुभयो ।

सञ्जिवको दाइ राजिव झा भन्नुहुन्छ, “जेनजी घाइते परिवारको तर्फबाट हाम्रो आक्रोश के छ भने नेपाली नागरिकको सुरक्षा हुनुपर्छ । नेपाली नागरिकलाई राज्यले सुव्यवस्थित तरिकाले सम्मानपूर्वक बाँच्ने आधार दिनुपर्छ ।” रसुवाको भोटेकोशी बाढी पीडितलाई सहयोग गर्न स्वयम्सेवकको रुपमा खटिदा सञ्जिव पुनः अस्वस्थ भएकोले अस्पतालमा भर्ना भइ उपचार गराइरहनुभएको छ ।

उहाँले जेनजी आन्दोलनका घाइतेको माग र मुद्दाप्रति राज्य उदासीन बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । जेनजी आन्दोलनका सबै घाइतेहरुले सुशासनयुक्त नेपाल हेर्न चाहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रा दाजुभाइ, दिदीबहिनीहरु सडकमा आए । जे विषय लिएर कुटाइ खाए, गोली खाए, सहादत प्राप्त गरे त्यो विषय सम्बोधन नभएसम्म न सहिदको आत्माले शान्ति पाउछ न सहिद परिवारको त्यो सहादतको मूल्याङ्कन हुन सक्छ । घाइतेहरु जुन अङ्गभङ्ग भएका छन्, न त उनीहरुको पीडामा मलम लाग्न लाग्छ ।”

यसैगरी, २८ वर्षीय उदय प्रकाश शाह पनि देशमा सुशासन ल्याउनुपर्छ भन्ने माग राख्दै जेनजी आन्दोलनमा सहभागी हुनुभयो । माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुग्नुभयो । प्रदर्शनको क्रममा संसद भवन परिसरमा गोली चल्दै गर्दा उहाँको देब्रे खुट्टामा पनि गोली लाग्यो ।

उहाँ भन्नुहुन्छ, “त्यतिखेर हाम्रो साथीहरुलाई पनि गोली लाग्यो, त्यो क्रममा मलाई पनि गोली लाग्यो । खुट्टामा गोली लागेपछि म ढलें, खुट्टाभरी रगतै रगत भयो । म बेहोस् भएँ । त्यसपछि साथीभाइले उचालेर मलाई ट्रमा सेन्टरमा पुर्‍याएछन् ।” उदय प्रकाश अहिले पनि राम्रोसँग हिड्न सक्नुहुन्न । खुट्टा सुन्निने, लामो समय हिड्न नसकिने, गह्रुङ्गो सामान उठाउन नमिल्ने लगायतको समस्या उहाँलाई छ ।

उहाँले राज्यसँग जेनजी घाइतेहरुको गुणस्तरीय उपचारको माग पनि गर्नुभयो । उहाँले भन्नुभयो, “यो जेनजी सरकार हो । जेनजी घाइते र सहिदहरुको पीडा बुझ्नुपर्‍यो । अझै नजिक आएर बुझ्नुपर्‍यो । अझै कति घाइते साथी कोमामा छन्, कसैको हात अहिलेसम्म झुन्ड्याइ राखेकै छन् । मेरो खुट्टामा दुखाइ त्यस्तै छ । म के अनुरोध गर्छु भने हाम्रै देशमा उपचार हुन्छ भने राम्रोसँग उपचार गराइदिनु ।हाम्रो देशमा उपचार सम्भव छैन भने बाहिर लगेर पनि उपचार गराइदिनुपर्‍यो । किनकी, हातखुट्टा त हाम्रो गरिखाने बाटो हो नि त ।”

बेरोजगारीको समस्या समाधान गर्न घाइतेहरुका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था भए गरिखाने बाटो बन्नेथियो कि भन्ने उहाँको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter