मलेसियाबाट फर्किएर गाउँमै कुखुरापालन

टोपलाल अर्याल / गुल्मी, असोज २६ गते । पन्ध्र वर्ष मलेसियामा काम गरेर फर्किनुभएका गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्गका इन्द्रदेव पौडेल अहिले आफ्नै गाउँमा कुखुरापालनमा व्यस्त हुनुहुन्छ । विदेशमा प्राविधिक क्षेत्रमा काम गर्नुभएका पौडेलले गाउँ फर्किएपछि स्थानीय जातका कुखुरापालनलाई व्यवसायका रूपमा अघि बढाउनुभएको हो ।

कोभिड–१९ को महामारीपछि २०७७ सालमा सुरु गर्नुभएको कुखुरापालन व्यवसाय अहिले विस्तार भएर तीन हजार कुखुरासम्म पुगेको छ । सुरुमा दुई सय कुखुराबाट व्यवसाय थाल्नुभएका पौडेलले हरेक महिना सातदेखि आठ सय कुखुरा थप्ने गर्नुभएको छ । यसले गर्दा वर्षभरि कुखुरा बिक्री गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।

सुरुमा उहाँको सिमलटारी बजारमा होटल र कुखुरापालन व्यवसाय दुवै थिए । स्थानीय जातका कुखुराको माग बढ्दै गएपछि उहाँले होटल छाडेर कुखुरापालनमा ध्यान केन्द्रित गर्नुभयो । तर, व्यवसाय सुरु गर्दा बजारको अभाव र उत्पादनअनुसार मूल्य नपाउने समस्या थियो । त्यसका बाबजुद उहाँले व्यवसायलाई निरन्तरता दिनुभयो ।

“सुरुमा बजार पाइएन, मूल्य पनि राम्रो थिएन । स्थानीयले डुब्यो भनेर जिस्क्याउनसमेत थाले । तर, विस्तारै बजार खोज्दै जाँदा राम्रो हुँदै गयो,” पौडेलले भन्नुभयो ।

उहाँको फार्ममा दैनिक कम्तीमा तीन सय अण्डा उत्पादन हुने गरेका छन् । स्थानीय बजारमा बिक्री हुँदै आएका कुखुरा तथा अण्डाको माग अहिले बुटवल, पाल्पा, स्याङ्जा र तनहुँसम्म पुग्ने गरेको छ । एकैपटक १५ वटाभन्दा बढी कुखुराको माग भए ग्राहकले भनेकै ठाउँमा पुर्‍याउने व्यवस्था पनि उहाँले मिलाउनुभएको छ । अहिले कुखुराको भाले प्रतिकिलो ७५० रुपियाँ र पोथी प्रतिकिलो ७०० रुपियाँमा बिक्री हुने गरेको पौडेलले बताउनुभयो ।

कुखुरापालनमा अहिलेसम्म करिब ५० लाख रुपियाँ लगानी भइसकेको उहाँको भनाइ छ । सबै खर्च कटाएर मासिक न्यूनतम ६० हजार रुपियाँ आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

१५ वर्ष विदेशमा बिताएर फर्किएपछि पुनः विदेश जानुपर्ने अवस्था नआएकोमा पौडेल सन्तुष्ट हुनुहुन्छ । गाउँमै परिवारसँग बसेर विदेशमा हुने आम्दानीको हाराहारीमा कमाउन सक्नु आफ्नो लागि खुसीको विषय भएको उहाँ बताउनुहुन्छ । फार्मको व्यवस्थापन पौडेल र उहाँको परिवारले गर्दै आएको छ ।

कुखुरापालन जोखिमरहित भने छैन । रोगको सङ्क्रमणसँगै दाना, पानी, सरसफाइ र तापक्रम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पौडेल बताउनुहुन्छ । “हरेक क्षेत्रमा जोखिम छ । कुखुरामा पनि रोग लाग्यो भने ठूलो क्षति हुन्छ । त्यसैले दाना, पानीदेखि तापक्रमसम्म निरन्तर निगरानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

व्यवसाय विस्तारका लागि सरकारी सहयोग नपाएको पौडेलको गुनासो छ । प्रविधि सहयोगका लागि पटकपटक आवेदन दिए पनि स्थानीय सरकार र प्रदेशका निकायबाट सहयोग प्राप्त नभएको उहाँले बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter