ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
ललितपुर, १० मङ्सिर । मुलुकले ऊर्जा सङ्कट भोगिरहेका बेला उपलब्ध ऊर्जा स्रोतको किफायती उपयोगका सम्बन्धमा विभिन्न देशमा भएका अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ ऊर्जा दक्षताको संस्थागत विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
ऊर्जा दक्षताको प्रवद्र्धनको निमित्त यस क्षेत्रको संस्थागत विकासका लागि ठोस नीति तथा प्रभावकारी संरचना स्थापना गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
जर्मन सङ्घीय आर्थिक तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोग (जिआइजेड) को सहयोगमा ऊर्जा मन्त्रालयले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, जर्मनी, बङ्गलादेश, इन्डोनेसिया र थाइल्याण्डका करिव सयजना ऊर्जाविज्ञको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न ऊर्जामा पहुँच तथा ऊर्जा सुरक्षाको सुनिश्चितताका लागि ऊर्जा दक्षताको संस्थागत विकास अपरिहार्य रहेको बताउनुभयो ।
नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले नेपालमा ऊर्जा दक्षताको विकासमा जर्मन सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यसका लागि एक छुट्टै निकायको स्थापना हुनसके ऊर्जाको व्यवस्थापन भई ऊर्जा सङ्कट कम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा ऊर्जा मन्त्रालयका सचिव सुमन शर्माले ऊर्जा दक्षतासम्बन्धी लक्ष्य हासिल गर्न उपयुक्त नीति र संस्थागत संरचना निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
अन्तर्राष्ट्रिय ऊर्जा दक्षता विशेषज्ञ डा अलेब्रेख्त कउपले ऊर्जाको बढ्दो माग र आपूर्तिबीच सन्तुलन राख्न, मुलकको आर्थिक विकास गर्न तथा ऊर्जाको बढ्दो मूल्यलाई स्थिर राख्न ऊर्जा दक्षतामा विश्वव्यापी रुपमा जोड दिन थालिएको बताउनुभयो ।
ऊर्जा मन्त्रालयका सहसचिव डा सञ्जय शर्माले अन्तर्राष्ट्रिय अनुभवका आधारमा ऊर्जा दक्षताको संस्थागत विकासतर्फ अग्रसर राष्ट्रलाई ऊर्जा दक्षताको लक्ष्य कुशल र प्रभावकारी रुपमा हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
सम्मेलनमा सहभागी आठवटै राष्ट्रका प्रतिनिधिहरुले आ–आफ्ना देशमा भइरहेका ऊजाए दक्षतामाथिका सफलताका आधारहरु तथा सोसँग सम्बन्धित कार्यक्रमका अनुभवहरुसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । रासस