सिएनएन हिरो म्यागीद्वारा सुर्खेतमा क्याम्पस बनाउने घोषणा
December 16, 2015 | 8:58 pm    
काठमाडौँ, १ पुस । सिएनएन हिरो संयुक्त राज्य अमेरिकाकी युवती म्यागी डोयनले बालबालिकाका लागि सुर्खेतमा छिट्टै भूकम्प प्रतिरोधी क्याम्पस भवन बनाउने घोषणा गर्नुभएको छ ।
सिएनएन हिरोको उपाधि जितेपछि नेपाल आउनुभएकी म्यागीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाज सेवाका माध्यमबाट अनाथ तथा असहाय बालबालिका हुर्काएर सक्षम नागरिक बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफूले नेपालको मध्य पश्चिमी भेगमा गरेका समाज सेवाका कारण प्राप्त गरेको सम्मानले सबै नेपाली र अनाथ छोराछोरीको सम्मान भएको टिप्पणी गर्नुभयो ।
नेपाल आएर मध्यपश्चिमका विभिन्न जिल्ला घुम्दा बालबालिकाको अवस्था साँच्चिकै चिन्ताजनक पाएपछि यतै बसेर काम गर्ने निर्णय गरेको स्मरण पनि उहाँले सुनाउनुभयो ।
तीस वर्षीया म्यागीले सिएनएन हिरो घोषित भएपछि ११ हजार डलर पुरस्कारस्वरुप प्राप्त गर्नुभएको थियो । रासस