अलैँची खेती देशभर फैलँदै
(सिबी अधिकारी)
चम्पे (भोजपुर), ५ पुस । चम्पे–३ सो¥याङका जीवन राई पैसा कमाउन केही वर्ष अगाडि खाडी मुलुक पुग्नुभयो । त्यहाँ सात वर्ष दुःख गर्दा पनि घर फर्कन पुग्ने पैसा जोगाउन सक्नुभएन । पैसा नभएपछि अन्ततः घरबाट पैसा मगाएर गाउँ फर्किनुभयो र त्यसपछि अलैँची खेती सुरु गर्नुभयो । पुख्र्यौली पेसा लत्याएर पैसा कमाउन कलिलो उमेरमा विदेश पुगेका राईलाई परदेशको सङ्घर्ष र दुःखले यो कुरा सिकायो कि यतिका परिश्रम गर्ने हो भने आफ्नै गाउँठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ । त्यसैले राईले विदेशको सपना छोडेर गाउँमै बस्नुभयो र कृषि कर्मलाई रोज्नुभयो ।
राईले अहिले गाउँमा करिब ४० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहनुभएको छ । यो वर्ष मात्रै उहाँले १३ मन अलैँची उत्पादन गर्नुभयो । यसबाट उहाँलाई रु १२ लाख आम्दानी भयो ।
चम्पे–३ का व्यवसायी चन्द्र खत्री पनि १० वर्षअघि सामान्य कृषि व्यवसाय (खसिबोका खरिद) को काम गर्नुहुन्थ्यो । तर अहिले अलैँची खेतीसँगै यसको व्यापारमा लागेर लाख मात्र हैन करोडको व्यापार गर्न थाल्नुभएको छ । उहाँले यो वर्ष करिब दुई करोड रुपैयाँको व्यापार गर्नुभएको छ । अघिल्लो वर्ष लगाएको अलैँची खेतीबाट १० मन उत्पादन गर्न सफल उहाँले अन्य गाविसमा उत्पादन भएका अलैँची खरिद गरी मुख्य बजारसम्म ढुवानी पनि गर्दै आउनुभएको छ ।
अहिले २५ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्नुभएका उहाँ गाउँमै १४ वटा आधुनिक भट्टी र तालिम प्राप्त जनशक्तिको सहारामा अलैँचीको व्यापार गर्नुहुन्छ ।
यी प्रतिनिधि पात्रले जस्तै जिल्लाका धेरै किसान अहिले अलैँची खेतीतर्फ आकर्षित भएका छन् । रुखो र ओसिलो जग्गामा अन्य कृषिजन्य उत्पादनले त्यति फाइदा दिँदैन जति अलैँची खेतीले दिन्छ । त्यसकारण यहाँका किसान आफ्ना खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् ।
जग्गा हुने किसानहरु खेतीमा र कम जग्गा हुनेहरु अलैँची व्यापारमा लागेका छन् । कम मेहनतबाट उब्जाउ नहुने जमिनबाट लाखौँ आम्दानी गर्न सकिने भएपछि कृषकहरु अन्य बालीभन्दा यसकै खेतीमा लागेका हुन् ।
व्यवसायी खत्रीले भन्नुभयो – “अहिले म जस्ता धेरैले परम्परागत बाली नगरी अलैँची खेतीमा लागेका छन् । कम जग्गा र कम मेहनतमै धेरै प्रतिफल दिने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको हो ।” चम्पे गाविसका हरेक कृषकले कम्तीमा एक लाखदेखि १४ लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन् ।
बोया–१ का रामबहादुर खड्का र रमेश चौहानले खेतीयोग्य जग्गा मासेर केही वर्षदेखि अलैँची खेती गर्दै आउनुभएको छ । उहाँहरु हरेकले प्रतिवर्ष तीनदेखि नौ मनसम्म अलैँची उत्पादन गर्नुहुन्छ । कृषक खड्काले भन्नुभयो – “अन्य बाली लगाउँदा आम्दानी कम हुन्थ्यो तर अहिले अलैँचीबाट मनग्य आम्दानी हुन थालेको छ । अब, बाँकी जग्गामा पनि यसको विस्तार गर्ने योजनामा छु ।”
अलैँचीको बिरुवा लगाएको तीन वर्षभित्र फल दिन थाल्छ । जेठदेखि कात्तिकसम्म रोपिन्छ । भोजपुरमा डम्बरसाई, गोलसाई, रामसाई जातको अलैँची उत्पादन हुन्छ । सबैभन्दा महङ्गो डम्बरसाईको प्रतिमन रु ९५ हजारमा बिक्री हुन्छ । गोलसाईको रु ९३ हजार र रामसाईको रु ९२ हजार मूल्य पर्छ । यद्यपि यो मूल्यमा हरेक वर्ष केही घटबढ हुने गर्छ । स्थानीय बजारमा अलैँची कम्तीमा पनि प्रतिमन रु ८५ हजारले बिक्री हुँदै आएको छ । यसका मुख्य बजार धनकुटा, हिले, इटहरी र बिर्तामोड हुन् जहाँबाट भारतका विभिन्न स्थानमा निर्यात गरिन्छ ।
स्थानीय व्यवसायीले पहाडी जिल्लाबाट अलैँची सङ्कलन गरी तराईसम्म ढुवानी गरेर पु¥याउने गरेका छन् ।
भोजपुरका अधिकांश गाविसमा अहिले अलैँची खेती गरिँदै आइएको छ । सुरुमा सौखको रुपमा रोपिने अलैँची पछिल्लो समय कृषकका लागि भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लामा प्रतिवर्ष तीन हजार मनभन्दा बढी अलैँची उत्पादन हुन्छ ।
कृषि उद्यमशालाका अनुसार नेपालका करिब ४० जिल्लामा अलैँची खेती गरिन्छ । पूर्वी पहाडी र मध्य पहाडी जिल्लामा व्यावसायिक रुपमा अलैँची खेती हँुदै आएको छ । पूर्वका इलाम, ताप्लेजुङ्ग, धनकुटा, सङ्खुवासभा, भोजपुर तथा मध्यका दोलखा, लमजुङ र पाल्पामा यसको विस्तार गरिएको छ । पश्चिम भेगका अन्य जिल्लामा पनि अलैँची खेतीे सुरु हुन थालेको छ ।
विज्ञहरुका अनुसार समुद्री सतहबाट ६०० देखि दुई हजार मिटर उचाइसम्मको भूभागमा आठदेखि २० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा अलैँची उत्पादन हुन्छ ।
बिरुवा लगाएको तीन वर्षदेखि फल दिने अलैँचीको बोटले १० वर्षसम्म राम्रो उत्पादन दिन्छ भने अरु २० देखि २५ वर्षसम्म निरन्तर उत्पादन दिन्छ । एक रोपनी क्षेत्रफलमा २६ किलोग्रामसम्म अलैँची फलाउन सकिन्छ । नेपालमा यो सबैभन्दा बढी विदेश निर्यात हुने नगदे बालीमा पर्छ ।
उद्यमशालाका प्रबन्ध निर्देशक डम्बर खनालका अनुसार नेपालमा वार्षिक करिब छ हजार मेट्रिक टन अलैँची उत्पादन हुन्छ । उहाँका अनुसार अघिल्लो वर्ष २९ लाख ३० किलोग्राम अलैँची निर्यात भएको थियो र त्यस बापत रु तीन अर्ब ८४ करोड प्राप्त भएको थियो । कुल उत्पादनको ९९ प्रतिशत भारत निर्यात हुन्छ । अघिल्लो वर्षको तथ्याङ्क अनुसार रु २ लाख मूल्य बराबरको अलैँची मात्रै युरोपेली मुलुकहरुमा निर्यात हुनसक्यो ।
खासगरी मसलाका रुपमा चलनमा ल्याइने अलैँची औषधि बनाउन पनि त्यत्तिकै प्रयोग हुन्छ ।
पूर्वी पहाडी जिल्लाबाट सुरु भएको यो खेती अहिले पश्चिम हुँदै देशभर क्रमिक रुपमा फैलिरहेको छ । नेपालमा अहिले १२ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको अनुमान छ । नेपालमा डम्बरसाई, चिबेसाई, रामसाई, गोलसाई र साउने गरी पाँच जातका अलैँची उत्पादन हुन्छ ।
नेपाली चेली सिक्किममा बिहेबारी भएर गएपछि माइती आउँदा कोशेलीका रुपमा अलैँची ल्याउने चलन भएसँगै अलैँचीका बिरुवा नेपाल भित्रिएको विश्वास गरिन्छ ।
गानो कुहिने, किरा लाग्ने र पात पहेँलिने जस्ता समस्याले अलैँची कृषकलाई बेलाबेलामा सताउने गरेको छ । रासस