दारेचोकका किसानको जीवनस्तर नै फेरिदियो सुन्तलाले
(नारायण ढुँगाना)
रत्ननगर (चितवन), ९ पुस । चितवनको दारेचोक तामिनलाई जिल्ला कृषि विकास कार्यालयले २०६० सालमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । त्यो बेलादेखि अहिलेसम्म करिव १२ वर्षको समयावधिमा आफ्नो उचाइ तामिनले घटाएको छैन । चितवनका धेरै क्षेत्रमा सुन्तला हुन्छ तर दारेचोकको यो पकेट क्षेत्रको सुन्तलाको माग भने अत्यधिक छ ।
रसिला, कसिला र स्वादिला भएकाले पनि यहाँको सुन्तला बिक्री गर्न अन्यत्र लैजान पर्दैन । गाउँबाटै बिक्छ । कृषकले कृषि कार्यालयबाट प्राविधिक सहयोग पाएकाले र बोट व्यवस्थापनमा ध्यान दिएकाले पनि यहाँ सुन्तला चिल्ला र रसिला फल्ने गरेका छन् ।
स्थानीय कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो – “फलमा चिल्लोपन, गुलियो र चम्किलो हाम्रो सुन्तलाको विशेषता नै हो । व्यापारी खरिदका लागि झुम्मिन्छन् र ग्राहक पनि यहाँका सुन्तला देख्ने बित्तिकै मन पराउँछन् ।”
आफ्नै बजार मुग्लिनबाट यहाँका सुन्तला बाहिर जान पाउँदैनन् । कहिलेकाहीँ काठमाडौँबाट तामिनका सुन्तलाकै लागि ट्याक्सी रिजर्भ गरेर मुग्लिन आएको स्मरण नेपाल सुनाउनुहुन्छ । यहाँका सुन्तला हेर्दै चिल्ला, ठूला र आकर्षक देखिन्छन् । पात तथा भेट्ना समेत टिप्ने चलन तामिनमा छ ।
चिल्लो र पातसहितको दाना देखेपछि ताजा भनेर ग्राहक लोभिने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनमा सुन्तला हेर्दै आउनुभएका बागवानी विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो ।
चितवनको दारेचोक गाविसको मुग्लिन बजारबाट साढे ६ किलोमिटर ग्रामीण कृषि सडक पार गरेपछि तामिन पुगिन्छ । करिव एक हजार मिटर उचाइमा रहेको तामिनमा केही भिरालो परेका ठूला पाटामा सुन्तलाका बगान छन् । बगानमा अहिले लटरम्म फलेका सुन्तलाले पहेंलपुर छ । हेर्दै आकर्षक देखिन्छ ।
यहाँ ८० किसानले एक सय बिगाहामा सुन्तला लगाएका छन् । गएको वर्ष एउटै गाउँ तामिनमा रु डेढ करोडको सुन्तला बेचेका किसानहरुले यसपटक रु २ करोड भन्दामाथिको कारोबार हुने बताएका छन् । एकजनाले ९ लाख रुपैयाँसम्म सुन्तलाबाट वार्षिक आम्दानी लिने गरेका छन् ।
तामिन कृषि सहकारी संस्थाका सचिव प्रकाश सिलवालले गाउँको सुन्तलाको माग अत्यधिक रहेकाले पूरै बोट नै हचुवामा किन्न व्यापारीहरु आउने गरेको बताउनुभयो । रोग किरा नलागेकाले यसपालि सुन्तला उत्पादन बढेको उहाँको भनाइ छ ।
सिलवालले १२ कठ्ठामा सुन्तला लगाउनुभएको छ । गत वर्ष २६० बोटबाट साढे ३ लाख रुपैयाँ आर्जन गर्नुभयो । यो वर्ष ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्ने उहाँको आकाङ्क्षा छ ।
सुन्तला खेती गर्नेमध्येका अगुवा हुनुहुन्छ, किसान कृष्णप्रसाद बोहरा । दुई बिगाहा क्षेत्रमा उहाँले ६ सयभन्दा बढी सुन्तलाका बोट लगाउनुभएको छ ।
गत वर्ष ६ लाख रुपैयाँ आम्दानी लिनुभएका उहाँले यो वर्ष ८ लाख रुपैयाँ जति कमाउने लक्ष्य राख्नुभएको छ । उहाँलाई सुन्तला कहाँ लगेर बिकाउने भन्ने चिन्ता छैन ।
“घरमै व्यापारी आइरहेका छन्,” बोहराले भन्नुभयो – “तामिनका सुन्तला जहाँ पनि बिक्छन् ।” तामिनका सुन्तलाको माग हिजोआज क्रमिक रुपले बढ्दै गएको छ ।
यहाँ विसं २०४३ देखि नै सुन्तला खेती परम्परागत रुपमा हुन्थ्यो । विसं २०५६ मा अलि विस्तार भएको सुन्तला खेतीप्रति २०६० सालयता स्थानीय जनता व्यावसायिक रुपमै आकर्षित भएका हुन् ।
अहिले तामिनका सुन्तला थोकमा प्रतिकिलो ५० देखि ५५ रुपैयाँमा बिकिरहेका छन् । मुग्लिन बजारमा यसको मूल्य ८० देखि १०० रुपैयाँ प्रतिकिलो पुगेको छ । नाकाबन्दी लगायतका कारण अझै भाउ नमिलेको स्थानीय किसान भरत बोहराले बताउनुभयो ।
ढुवानी प्रतिकिलो २ रुपैयाँबाट यो वर्ष दोब्बर बढेर ४ रुपैयाँ पुगेको छ । तर गत वर्ष भन्दा अहिले सुन्तलाको मूल्य नबढेकाले सोचे जति फाइदा लिन भने नसकिएको किसानले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनको तथ्याँक अनुसार चितवनको दारेचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । चार नम्बरको तामिन र ३ नम्बरको तोकदाङमा अत्यधिक सुन्तला फल्छ ।
जिल्लामा अहिले कुल २६५ हेक्टर जमिनमा सुन्तला खेती लगाइएको छ । अघिल्लो वर्ष यहाँ करिव २ हजार मेट्रिक टन सुन्तला फलेको थियो । अहिले जिल्लाभर १० देखि २० प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ ।
केही स्थानमा असिनाले असर गरेपनि धेरै स्थानमा यो वर्ष सुन्तला उत्पादन राम्रो छ । “रोग किरा पनि लागेन, त्यसैले उत्पादन निकै राम्रो छ,” बागवानी विकास अधिकृत थापाले भन्नुभयो । चितवनमा यसवर्ष ९ हेक्टर क्षेत्रफलमा सुन्तला र कागती खेती विस्तार समेत भएको उहाँले बताउनुभयो ।
दारेचोकको तामिन, धाप, तोकदाङ, माझगाउँ र सिरानगाउँमा बढी सुन्तला हुन्छ । यस्तै, काउले, कविलास र चण्डिभञ्याङ लगायत केही गाविसमा सुन्तला खेती हुँदै आएको छ ।
किसानका जीवनस्तर नै बदलियो
दारेचोकका किसानको जीवनस्तर नै सुन्तलाले फेरिदिएको छ । परम्परागत खेतीले उब्जिएको अन्नले वर्षभर धान्न मुस्किल हुने गरेका यहाँका किसानहरु अहिले घरघडेरी र जग्गा किनेर सुविस्तासँग बस्न थालेका छन् ।
कृषि सहकारीका अध्यक्ष नेपालले डेढ बिगाहामा वार्षिक ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ ।
विगत १९ वर्षदेखि सुन्तला उब्जाउँदै आउनुभएका उहाँले अहिलेसम्म सुन्तलाकै कमाइले एक बिगाहा खेत खरिद गर्नुभएको छ । चितवनको मुग्लिन बजारमा दुई वटा घडेरी जोड्नुभएको छ । “घरखर्च बाहेक नै मैले ३० लाख भन्दा बढीको जमिन जोडेको सुन्तलाले नै हो,” नेपालले भन्नुभयो ।
सुन्तला उत्पादक किसानमध्ये ५० प्रतिशतले यसरी घडेरी लिएको बताउनुहुन्छ समूहका सचिव सिलवाल । सिलवालले पनि रु ६ लाखमा दुई कठ्ठा जग्गा सुन्तलाकै आम्दानीले जोडेको बताउनुभयो ।
अर्का सुन्तला किसान विश्वप्रकाश नेपालले रु १२ लाखमा चितवनको रत्ननगरमा जग्गा किन्नुभएको छ । तोकदाङका किसानले समेत सुन्तलाको कमाइ बैंकमा जम्मा गरेर राख्ने गरेको बताएका छन् । गाउँ जान बनाइएको बाटो निर्माणमा ६० लाख रुपैयाँ भन्दा बढी लगानी भएको छ । त्यसमा करिब रु २५ लाख गाउँलेले हालेका छन् । त्यो रकम सबै सुन्तलाबाट आर्जित कमाइ हो । रासस