न्यानो कपडा किन्न भक्तपुरमा रु १८ करोड निकासा
December 27, 2015 | 8:06 pm    
भक्तपुर, १२ पुस । जिल्ला प्रशासन कार्यालय जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले जिल्लाका भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि रु १८ करोड निकासा गरेको छ ।
भूकम्पले भक्तपुरमा पूर्णरुपमा क्षति पु¥याएका २६ हजार २८२ घरधनीलाई सरकारले तोकेको रु १० हजार रुपैयाँ बाँड्न जिल्लाका ६ वटा नगरपालिकामार्फत उक्त रकम निकासा गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
समितिले भूकम्पपीडितलाई रकम बाँड्न भक्तपुर नगरपालिकाका ६ हजार ४११ घरपरिवारलाई रु दुई करोड २० लाख ५० हजार, अनन्तलिङ्गेश्वर नगरपालिकाका तीन हजार ६२४ परिवारका लागि रु तीन करोड ३२ लाख ४० हजार, नगरकोट नगरपालिकाका पाँच हजार २०० परिवारका लागि रु दुई करोड ६० लाख निकासा गरेको छ ।
त्यसैगरी, सूर्यविनायक नगरपालिकाका चार हजार ६७ परिवारका लागि रु तीन करोड ५३ लाख ३० हजार, चाँगुनारायण नगरपालिकाका पाँच हजार २८१ परिवारका लागि रु तीन करोड ६४ लाख र मध्यपुर थिमि नगरपालिकाका एक हजार ६९९ परिवारका लागि रु एक करोड ७० लाख निकासा गरिसकेको र नपुग रकम माग भएलगत्तै निकासा गरिने उहाँले जानकारी दिनुभयो ।
समितिले रकम निकासा गरेपनि कार्यकारी अधिकृत नहँुदा रकम वितरण गर्न नसकेको भक्तपुर नगरपालिकाले पनि आजदेखि भूकम्पपीडितलाई १७ वटै वडा कार्यालयबाट रकम वितरण गर्न सुरु गरेको छ । ढिलो रकम वितरण गरेपछि भक्तपुर नगरपालिकाको सबै वडा कार्यालयमा आज नगद रु १० हजार लिन भूकम्पपीडितको भीड लागेको थियो । आज एकै दिन रकम सबैलाई वितरण गर्न नसक्ने भएकाले भोलि पनि रकम वितरण गर्ने नगरपालिकाले जनाएको छ । रासस