काठमाडौँ, ७ माघ । आफ्नो लगानीमा सञ्चालित आयोजनाको कार्यसम्पादन क्षमता बढाउन सकेमा एसियाली विकास बैंक (एडिबी) आफ्नो लगानी वृद्धि गर्न तयार भएको छ ।
बैंकले आज यहाँ गरेको वार्षिक लगानी पुनरवलोकन तथा पुरस्कार वितरण कार्यक्रममा वार्षिक करिब रु २७ अर्ब ५० करोड लगानी गर्दै आएकामा सन् २०१७ देखि ६० प्रतिशत वृद्धि गर्न तयार रहेको जनाएको हो ।
कार्यक्रमा अर्थ सचिव लोकदर्शन रेग्मीले गत वैशाखको भूकम्प र नेपाल–भारत सीमा क्षेत्रमा देखिएका अवरोधका कारण मुलुकमा इन्धनको चर्को अभावका कारण बैंकको लगानी भएका आयोजनाको कार्यसम्पादनमा केही कमी देखिए पनि अगामी वर्षमा त्यसलाई बढाउन सकिने बताउनुभयो ।
आगामी वर्षमा आयोजना कार्यान्वनका लागि नयाँ रणनीति बनाएर अगाडि बढ्न सकिने उल्लेख गर्दै उहाँले आगामी वर्षमा लगानीको वातावरण बन्ने र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम सुरु गरेकाले कार्यसम्पादनले गति लिनेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।
बैंकका एसिया क्षेत्र विभागका महानिर्देशक हुन किमले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग छलफल हुँदा लगानीका लागि वातावरण बन्ने अवसर रहेको बताउनुभयो ।
मुख्य परियोजना मेलम्ची खानोपानी आयोजना, तनहुँ जलविद्युत् अयोजना र त्रिभुवन एवम् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि विशेष ध्यान पु¥याउनुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी नेपालका लागि एडिबीका देशीय निर्देशक किनिची योकोयामाले सन् २०१५ लगानीका लागि अत्यन्त चुनौतीपूर्ण वर्ष रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि नेपालको लगानी सन्तोषप्रद रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बैंकको अनुदान तथा ऋणमा सञ्चालित ३३ परियोजनामध्ये सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन गर्ने समुदाय व्यवस्थित कृषि सिँचाइ क्षेत्र, समुदाय सिँचाइ, दोस्रो साना सहर खानेपानी वितरण तथा सरसफाइ क्षेत्र, सूचना, सञ्चार तथा प्रविधि विकास र तनहुँ जलविद्युत् आयोजनालाई पुरस्कार प्रदान गरिएको थियो । रासस