बिपी स्मृति दिवस : ‘व्यापारीबाट चन्दा मागेर पार्टी चलाउनु हुन्न भन्ने मान्यता बोक्ने नेता’
राजाराम कार्की / काठमाडौँ, ६ साउन । नेपाली काँग्रेस र सो पार्टीको भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्थाले आज मुलुकभित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरी विश्वेश्वरप्रसाद कोइराला स्मृति दिवस मनाएका छन् ।
स्व विश्वेश्वरप्रसाद कोइराला नेपाली काँग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको नेपाली काँग्रेस पार्टीको मुख्य सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो ।
विसं २००७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएका कोइरालाको जन्म १९७१ भदौ २४ गते बनारसमा भएको हो ।
भारतमा निर्वासित जीवन बिताएका कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो । तत्कालीन राजा महेन्द्रले २०१६ पुस १ गते स्व कोइरालाको सरकारलाई अपदस्थ गरी एकदलीय पञ्चायती व्यवस्था लागू गरेपछि उहाँले भारतमा निर्वासित जीवन बिताउँदै आउनुभएको थियो ।
नेपालको पहिलो जननिर्वाचित सरकारको नेतृत्व गर्नुभएका स्व कोइराला शालिन, सुझबुझपूर्ण र साहसी नेता हुनुहुन्थ्यो । क्यान्सर रोगबाट पीडित कोइरालाको २०३९ साउन ६ गते निधन भएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्का स्व कोइराला भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी रहनुभएकाले भारतीय नेतासँग उहाँ पटक पटक जेल पर्नुभएको स्मरण गर्नुहुन्छ ।
सत्याग्रहका पक्षपाती स्व कोइरालाले नेपालमा प्रजातान्त्रिक बहालीका लागि कठोर सङ्घर्ष गर्नुभएको थियो । निष्ठाको राजनीतिबाट कहिल्यै विचलित नहुनुभएका कोइरालाले तत्कालीन मन्त्रिपरिषद्का एक सदस्य डा तुलसी गिरीले व्यापारीबाट चन्दा उठाएर पार्टी चलाउनुपर्छ भन्दै राखेको प्रस्तावलाई ठाडै अस्वीकार गरेको कुरा जगत नेपालद्वारा लिखित ‘पहिलो संसद् ः बिपी–महेन्द्र टकराव’ पुस्तकमा उल्लेख गरिएको छ ।
ठेकेदार र व्यापारीको चन्दाबाट सङ्कलन गरिएको रकमबाट पार्टी चलाउँदा पार्टीभित्र सुकिला मुकिला हावी हुने र पीडित जनता, किसान र मजदुरको हित नहुने तर्क गर्नुहुने स्व बिपीको साहित्यक क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ ।
लगभग १८ वटा कृतिका लेखक स्व कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास र दुई कथा ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ नेपाली साहित्यिक फाँटमा पठनीय र सङ्ग्रहनीय मानिन्छन् ।
काँग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीका अनुसार असल राजनेतामा हुनुपर्ने गुण उहाँमा रहेका कारण तत्कालीन भारतीय नेताहरुले उहाँको विचारको अनुसरण मात्र गरेनन् उहाँसँग नतमस्तक पनि हुन्थे ।
वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक स्व कोइराला तत्कालीन समयमा बनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानबाट त्यो बेला सरकार मात्र होइन केही छेमेकी मुलुकका नेतासमेत अतालिएको बताउनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक सार्वजनिक समारोहमा स्व कोइरालालाई दार्शनिक र दूरदर्शी नेताको संज्ञा दिनुभएको थियो ।
स्व कोइरालाले २००७ सालमा संविधानसभाको निर्वाचनबाट संविधान निर्माण गर्नुपर्ने धारणा अघिसार्नु भएको प्रसंगलाई सम्झेर दाहालले स्व. कोइरालालाई भविष्य द्रष्टाको सङ्ज्ञा दिएको आकलन गर्न सकिन्छ ।
राणा शासनको अन्त्यपछि स्व कोइरालाले राजा त्रिभुवनलाई संविधानसभाको निर्वाचनबाट संविधान निर्माण गर्न दबाब दिनुभएको थियो । नेपालको पहिलो संसदीय निर्वाचनबाट नेपाली काँग्रेसले दुई तिहाइ अर्थात् कुल १०९ मा ७४ स्थान प्राप्त गरेको थियो । फलस्वरुप उहाँ २०१६ सालमा नेपालका प्रधानमन्त्री हुनुभयो ।
स्व कोइरालालाई प्रजातन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक हुन् भन्ने मान्यता राख्ने नेताका रुपमा वरिष्ठ पत्रकार हरिहर विरही स्मरण गर्नुहुन्छ ।
सूचना आयोगका आयुक्त किरण पोखरेल सत्ता समीकरण बदलिँदैमा पात्र र प्रवृत्ति बदलिँदैन र विरोधीलाई बचाएर राखियो भने सच्चिने मौका पाइन्छ मान्यता राख्ने नेता कोइराला हुन् भन्नुहुन्छ ।
यसै सन्दर्भमा आज नेपाल प्रेस युनियनले आफ्ना प्रतिष्ठान र देशभरका ७३ जिल्ला शाखामा बिपीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । रासस