मालासंहिता (व्यङ्ग्य)
योगीशकृष्ण / कोठा भव्य देखिन्थ्यो । चारैतिर पोस्टर साइजका फोटोहरू । मुस्कुराइरहेका नेताहरूको फोटो टाँसिएको भित्ता नेताहरूको अनुहार जस्तै चमकिरहेको थियो । नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री,मन्त्री एवम् पूर्वमन्त्रीहरूको एक से एक फोटो ।
मित्रवर बन्धुको कोठामा यस्तो दृश्य मेरा लागि अकल्पनीय थियो । सोधेँ, “राजनीतिमा लाग्ने विचार आयो कि कसो ?”
सदा झैँ उसले गम्भीरतापूर्वक जबाफ दियो“होइन, हालै नेताहरूको माला चर्चाको विषय बनेको छ । यसै विषयमा नेपाली राजनीति र मालाको सम्बन्धको विश्लेषण गर्दै छु ।”
मैले दक्षीणतिरको भित्तामा हेरँ –खुमबहादुर खडका मुस्कुराइरहेका थिए । एक सय एघार किलोको माला उनका कार्यकर्ताले उनलाई पहिराएका थिए । उनी मुस्कुराइरहेका थिए । भ्रष्टाचार प्रमाणित भएपछि कारावासको सजाय काटेर रिहा भएका खडकाको अनुहारमा अदम्य तेज देखिन्थ्यो । भ्रष्टाचारी भएपछि मानिसको अनुहारको तेज बढछ कि सजाय काटेर आएपछि यो पनि विश्लेषणको विषय हुन सक्छ । मेरो टोलका एक जना पकेटमार बेलाबेलामा सजाय भोग्थे । रिहा भएपछि केही दिन मुख लुकाएर घरबाहिर निक्लदैँन थिए । तर, खडका हाँसिरहेका थिए । माला लगाइदिने मानिस भएका भए ती पाकेटमार पनि यसैगरी मुस्कुराउँदा हुन् ।
मैले बन्धुलाई यो कुरा सुनाएँ । उसले जबाफ दियो“ म यसै विषयमा त अध्ययन गरिरहेको छु । तिम्रो टोले पकेटमारलाई उसका साथीहरूले कारागारबाट रिहा हुनासाथ यस्तो माला लगाइदिएको भए सभ्मवतः लाजले ऊ घरभित्र लुेकेर बस्दैन थियो । मालामा त्यो शक्ति हुन्छ जसले लाजशरमलाई ढाकिदिन्छ ।”
खडकाकै दलका अर्का नेता थापालाई हालसालै ५१ किलोको माला पहिराए । खडकाभन्दा झण्डै आधा । राजनीतिमा थापाको कद खडकाको भन्दा आधा छ ? त्यसैले उनलाई आधा बराबरको माला लगाइदिएका हुन् ? वा खडका भन्दा थापा आधा भ्रष्टाचारी हुन् ? हुन सक्छ उनका कार्यकर्ताको मनोभाव होस् –कमसे कम भविष्यमा खडकाको बरोबरी गर्न सकून । उता उनकै दलका अर्का नेता गिरीलाईलाई पनि उनका समर्थकले आधा क्विन्टलको माला लगाइदिएका थिए । लाग्दछ मालाको प्रतिस्पर्धा चलिरहेछ ।
माला लगाउन पुष्पकमल दाहाल पनि कम छैनन् । उनलाई मकवानपुरमा ४९ किलोको माला लगाइदिएका थिए । आर्थिक अनियमितताको आरोप लागेका सुमार्गी मालासँग सँगै विशेष चर्चित भएका थिए । कैलालीमा भने दाहालालाई २४ किलोको माला लगाइएको थियो । बन्धुको भनाइ छ कमसेकम सुमार्गीको साखा कार्यालय कैलालीमा पनि हुनु पर्छ जसले मालाको वजन बढाउन सकोस् ।
बन्धुको भनाइ छ –मालासंहिता विषयमा राष्ट्रिय सहमति हुनु आवश्यक छ । मालाको तौलको स्पष्ट आधार तोकिनु पर्छ । जस्तै –प्रधानमन्त्रीलाई सय किलोको माला लगाउने हो भने उपप्रधानमन्त्रीलाई त्यो भन्दा केही कम , मन्त्रीलाई त्यो भन्दा केही कम , राज्यमन्त्री एवम् सहायक मन्त्रीलाई तदनुरुप कम गर्दै लगिनु पर्छ ।
जो सरकारमा छैनन् तिनको पनि मर्यादाअनुरुप तौल निर्धारण गर्नु पर्छ । यसबाट आम जनताले पनि बुझ्न सक्छन् –कुन नेता कति ठूलो हो । हेर, ऊ त्यो पचास किलो वाला पूर्वप्रधानमन्त्री हो, पच्चीस किलोवाला पूर्वमन्त्री यसो पनि गर्न सकिन्छ पचास किलोवाला पार्टी अध्यक्ष हो, पचीस किलोवाला केन्द्रीय सदस्य । दश किलो वाला सल्लाहकार हो । विना मालाको भने चमचा मात्र हो, जसले माला लगाउने काम गर्दछ ।
बन्धुको भनाइको मैले खण्डन गरेँ “सरकारको कुरा त ठिकै छ । दलको कुरा मलाई सङ्तपूर्ण लागेन । साना दलका नेता र ठूला दलका नेताले उत्ति नै तौलको माला लगाउनु न्यायसङ्गत हुँदैन ।
एक छिन घोरिएपछि बन्धुले मुस्कुराउँदै जबाफ दियो “त्यसको पनि उपाय पनि छ । सदनमा जसको जति संख्याको प्रतिशत हुन्छ त्यति नै किलोको माला न्यूनतम मापदण्ड तोकिदिने । र, यलि मालाधारक सरकारमा छ भने यति किलो थप्न पाइने प्रावधान राखिदिने ।
बन्धुको भनाइ छ –यसलाई संविधानकै परिशिष्टमा राखिदिनु पर्छ जसले कुनै जटिलता उत्पन्न नहोस् र टिकाटिप्पणीको विषय पनि नबनोस् ।
यस विषयमा सरकारले आगामी भारत भ्रमणको क्रममा सहमति कायम गर्न पहल गर्ने विश्वास लेखकको छ ।
(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)