लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा
काठमाडौँ, २७ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरेको छ । लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
मलेसियाको नेगेरी रङ्गशालामा शनिबार साँझ भएको खेलमा गोरकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन रह्यो । उनले लाओसका खेलाडीले प्रहार गरेको बललाई उत्कृट बचाउ गरे ।
सो अघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप १–१ गोल भएपछि खेल दुई–२ को बराबरी भइ पेनाल्टीमा पुगेको थियो ।
खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो । लाओसका खेलाडीले १८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । तर नेपालका विमल घर्ती मगरले ४७ औं मिनेटमा बराबरी गोल फर्काए ।
यस्तै दोस्रो अतिरिक्त समयको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गरे । तर खेल सकिनै लाग्दा लाओस्का खेलाडीले बराबरी गोल फर्काए । नेपालको तुलनामा आक्रामक खेल खेलेको लाओसले केहि गोल गर्ने सुन्दर मौका पाएको भएपनि त्यसलाई उपयोग गर्न सकेन । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।