संशोधन प्रस्ताव विफल बनाउन प्रमको चुनौती; संविधान संशोधनको विधेयक फिर्ता हुनुपर्ने– अध्यक्ष ओली
पोखरा, १ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा(एमाले)लगायत विपक्षी दललाई चुनौती दिनुभएको छ ।
माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ भन्नुभयो । प्रधानमन्त्रीले संसद्को अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गर्नुभयो ।
पार्टी प्रदेश नं ४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी सङ्गठन अनुशासित र मर्यादित हुन सके मात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी सङ्गठन बलियो हुने विचार व्यक्त गर्नुभयो ।
एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो ।
संविधान संशोधनको विधेयक फिर्ता हुनुपर्ने– अध्यक्ष ओली
यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा, ओलीले संविधान संशोधनको विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले १३ महिनाभित्रमा सबै तहको निर्वाचन नगराइएमा मुलुक गम्भीर राजनीतिक सङ्कटमा फस्ने चिन्ता व्यक्त गर्नुभयो ।
सरकारले असान्दर्भिक र नचाहिने संविधान संशोधनको प्रस्ताव ल्याएकाले राजनीतिक गतिरोध बढेको उल्लेख गर्दै उहाँले मुलुकको सङ्क्रमणकाल अन्त्यका लागि आपूmले ल्याएको निर्वाचनसम्बन्धी कार्यतालिकासमेत ल्याउन अहिलेको सरकार असफल भएको टिप्पणी गर्नुभयो ।
रासस