गाउँमै आकर्षक आम्दानी
कमल खत्री / म्याग्दी, १९ पुस । स्वदेशमा रोजगारीको अवसर नदेखेर घरखर्च जुटाउनकै लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेका छन् । अर्कोतर्फ मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका केही कृषक बन्न थालेका छन् ।
करिब एक दशकसम्म खाडी मुलुक साउदीमा पसिना बगाएका राम्चे–४ का भक्तबहादुर पुर्जा अहिले आफ्नै गाउँघरमा सफल कृषकका रुपमा परिचित छन् । युवा उमेरको ऊर्जाशील जीवन घरपरिवार चलाउनका लागि खाडीमा बिताएका पुर्जा विगत करिब दुई दशकदेखि आफ्नै घरमा कृषक र व्यवसायी बनेर घरखर्च जुटाउँदै आएका छन् ।
गाउँकै अगुवासमेत रहेका पुर्जाले होटल व्यवसाय सञ्चालन गरेका छन् भने व्यावसायिक रुपमा खरायो पालनसँगै उनले तरकारी खेतीसमेत गर्दै आएका छन् । वैदेशिक रोजगारीलाई त्यागेर गाउँमै कृषि पेसा अङ्गालेका पुर्जाले आफ्नो पेसाबाट आफू सन्तुष्ट रहेको बताए ।
“ऊर्जाशील उमेर खाडीमा बिताएँ, त्यहाँको परिश्रमले पैसाको महत्व बुँझे, त्यहाँ परिश्रमअनुसारको कमाइ गर्न नसकेपछि गाउँ फर्किएर कृषि पेसा अङ्गालेर दैनिकी चलाउन थालेको हुँ,’’ ५० वर्षीय पुर्जाले विदेशबाट फर्किएर खरायोपालन र तरकारीखेती सुरु गरेका थिए । खरायो र तरकारीखेती फस्टाउँदै गएपछि घर खर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको पुर्जाले बताए । उनले कृषि पेसासँगै गाउँमै सञ्चालन गरेको होटल व्यवसायले आफ्नो परिवारलाई आर्थिक भार थाम्न थप टेवा पु¥याएको बताए ।
“मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ,” उनले थपे । पुर्जाको होटलमा पुग्ने पर्यटकका लागि खरायोको मासु मुख्य आकर्षण बन्ने गरेको छ । पुर्जाले आफ्नो होटलको अतिरिक्त घरमा उत्पादन भएको खरायोलाई पोखरा, काठमाडौँलगायतका बजारमा समेत निर्यात गर्दै आएका छन् ।
त्यस्तै राम्चे–४ कै राजु गर्बुजाले पनि गाउँमै खरायोपालन र आलुखेतीबाट आकर्षक आम्दानी गर्दै आएका छन् । दश वर्ष साउदीलगायतका मुलुकमा रोजगारीका लागि बिताएका पुर्जा गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसामा लागेको बताउँछन् ।
“हामीले पहिलेदेखि नै खरायोपालन गर्दै आएका थियौँ, अहिले त्यसलाई व्यावसायिक बनाएका छाँै, यसबाट मनग्य आम्दानी भएको छ, घर खर्च जुटाउन सहज भएको छ” – उनले भने । गर्बुजाले विदेशको चर्को घाममा पसिना बगाउनुभन्दा आफ्नै गाउँको माटोमा परिश्रम गर्न सके यथेष्ट आम्दानी हुने अनुभव सुनाए ।
तरकारीखेती र पर्यटनमा उच्च सम्भावना बोकेको राम्चे गाविसमा विदेशमा पुगेर फर्किएका युवासँगै गाउँमै भएकाहरु समेत कृषि क्षेत्रमा व्यावसायिक बन्न थालेका छन् । हिमाञ्चल माविमा विगत १९ वर्षदेखि शिक्षण गर्दै आएका कृष्ण पुनले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्छन् । घर नजिकै विद्यालय भएका कारण बिहान र बेलुकाको समयलाई घरपरिवारका अन्य सदस्यसँग सहकार्य गरी पुनले आलुसँगै अन्य तरकारी खेतीसमेत गर्दै आएका छन् । “यस वर्ष रु दुई लाखको आलु बिक्री भयो, तरकारी उत्पादन गर्न सके बजारको समस्या छैन,” उनले भने ।
त्यसैगरी राम्चेका सुनिता पुर्जाले पनि व्यावसायिक रुपमा खरायोपालन गर्दै आएकी छन् । उत्पादन भएको खरायो सुकुटी बनाएर पोखरा काठमाडौँ पु¥याउँदै आएको बताउने पुर्जाले अहिले व्यवस्थित रुपमा तीन दर्जन खरायो पालेको बताइन् । खरायोपालनमा लगानी र समय कम खर्चिनु पर्ने भएकाले व्यावसायिक रुपमा गाउँका अधिकांशले खरायोपालन गर्दै आएको स्थानीयवासी टेलीमाया गबुर्जाले बताइन् ।
राम्चेका स्थानीय पछिल्लो समय खरायोपालनसँगै आलुखेती र किबी खेतीमा समेत आकर्षित भइरहेका छन् । यस गाविसबाट वार्षिक लाखाँै मूल्य बराबरको आलु बाहिर निकासी हुने गरेको छ । गाउँको कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक बनाउँदै प्रचुर मात्रामा सम्भावना रहेको पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारका लागि विदेश जानुपर्ने बाध्यता हटेको राम्चे गाविसका पूर्वअध्यक्ष रमन पुनले बताउनुभयो ।
अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको राम्चे गाविस पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त मानिन्छ । मगर समुदायको सांस्कृतिक रहनसहनसँगै राम्चेबाट देखिने गणेश, अन्नपूर्ण, निलगिरि, माछापुच्छ«े र धौलागिरि हिमालको मनोरम दृष्यले पर्यटकलाई समेत आकर्षित गरेको छ । रासस