आर्थिक सहायता रोक्न आयोगको निर्देशन
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न गृह मन्त्रालयलाई बुधबार लिखित निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहायता रकम उपलब्ध नगराउन पत्राचार गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरणसमेत सरकारसँग माग गर्ने निर्णय गर्दै मुख्य सचिवलाई पत्राचारसमेत गरेको छ । गृह र अर्थ मन्त्रालयलाई उक्त विवरण उपलब्ध गराउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि प्राप्त नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नै पत्राचार गरिएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि माघ १२ देखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।