चितवनमा आइतबारबाट चरा गणना
चितवन, पुस २४ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ ।
नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो ।
मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिनेछ ।
चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदैछ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिनेछ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदैछ । बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो ।
बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाराको मत्स्यपालन केन्द्रमा पनि गणना गरिनेछ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ । यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदैछ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदैछ । पचासभन्दा बढी गणक सहभागी हुने बिडारीको भनाइ छ ।
छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उहाँका अनुसार रु एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदैछ । डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ ।
यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीका अनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातीका हुने बिडारीको भनाइ छ । ती चरा पानीमा आश्रित हुने गर्दछन् । हिउँका कारण खान नपाएपछि चरा आउने गर्दछन् । सगरमाथा माथिबाट उडेर खोया हाँस आउने गर्दछ ।
गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुनेछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । रासस