• Saturday, April 05, 2025

इजरायलको थोपा सिँचाइ प्रविधि नेपालमा- टण्डन

प्रमोदकुमार टण्डन ।

देशमा गरेर खान असहज हुँदै गएपछि २०६० सालमा आँखा चिम्लेर विदेश हान्निएका हेटौडाका श्रीकृष्ण अधिकारी अचेल कृषि पेसामा सक्रिय छन् । कामको लागि इजरायल पुगेका उनी त्यहाँ बालुवामा तरकारी उब्जनी गर्ने काममा लागे । माटो भन्दा बालुवा खुकुलो हुने हुँदा जरा स्वतन्त्र रुपमा बढ्न पाउने र थोपा सिंचाई प्रविधिबाट पानीको समान वितरण हुँदा तरकारी गजबसंग उत्पादन हुने रहेछ त्यहाँ । नेपालमा फालाफाल जमिन यत्तिकै बाँझिएको देखेका उनलाई बालुवामै तरकारी फलाएको कुरो मनन योग्य लाग्यो । ८ वर्ष इजरायल बस्दा उनले धन त कमाए नै तर त्यो भन्दा धेरै कमाए ज्ञान र सीप । ४ प्रतिशत मानिसले मात्रै कृषि पेशा गर्ने इजरायलले त्यसको उत्पादन देशमा खपत गरेर युरोप र अमेरिकामा समेत निर्यात गर्छ । त्यै कामको लागि नेपालीहरु पुग्छन् । माटो नै नभएको ठाउँमा ४५ डिग्री भन्दा बढी तापक्रममा बालुवामा तरकारी खेती फस्टाउनुमा प्रविधि, लगानी र व्यावसायीकरण सबै हुनुपर्ने उनले सिके । फलस्वरुप उनी २०६८ मा नेपाल फर्केसँगै इजरायलको थोपा सिंचाई प्रविधि नेपालमा सुरुवात गरे । उनले हाल थोपा सिंचाई प्रविधिलाई विस्तार गर्ने र जडान गरिदिने कामसँगै आफैले तरकारी खेती पनि गर्दै आएका छन् । थोपा सिंचाइमा पाइपको माध्यमबाट हरेक बोटसम्म पानी एकै समयमा समान रुपले सिँचाइ गर्न सकिन्छ । यसअलावा ठूलो टनेल बनाएर हरेक ड्याङ्गलाई प्लाष्टिकले छोपिन्छ । ‘यसो गर्दा तरकारीको बिचमा झार उम्रन पाउन्न । बोटमा पानी राख्ने र झार गोड्ने जनशक्ती चाहिन्न’ ३३ वर्षे यी युवा भन्छन् । थोपा सिँचाइ प्रणालीको विकास १९६० मा इजरायलबाट भएको हो । यस प्रणालीमा प्लाष्टिक पाईपबाट विरुवाको जरामा थोपा–थोपा गरेर पानीको आवश्यकता पुरा गरिन्छ । यसबाट विरुवाको निर्वाध वृद्धि हुन्छ । त्यस्तै विरुवालाई आवश्यक मलखाद सिँचाइकै माध्यमबाट दिइन्छ । यसले मलखाद, सिंचाई र गोडमेलको झमेला हुन दिन्न ।

टनेल निर्माण सहित थोपा सिँचाइ प्रविधि जडान गर्न प्रतिहेक्टर जमिनमा १५ हजार रुपैंया लाग्छ । जसबाट ६–७ वर्ष सम्म काम चल्छ । इजरायलबाट फर्केपछि अधिकारीले तरकारी खेतीसँगै यो प्रविधिको विस्तार गर्ने क्रममा देशभरका ६०० भन्दा बढी कृषकलाई थोपा सिँचाइ प्रविधि जडान गरिदिएका छन् । त्यसबाट कृषकको तरकारी उत्पादन भैरहेको छ भने विदेशमा गए सरह स्वदेशमै जिविकोपार्जन पनि भैरहेको छ । इजरायलमा मासिक करिव १ लाख रुपैंया तलबमा काम गरेर फर्केका उनी हाल बालाजु बाइपास नजिक घर बनाएर त्यसको आसपास थोपा सिंचाइ प्रविधिबाट खेती र कृषकहरुको मागअनुसार थोपा सिंचाइ प्रविधि जडान गरी इजरायलको सरह कमाइ गरिरहेका छन् । ‘आम्दानीभन्दा पनि थोपा सिंचाइ प्रविधि विस्तार र इजरायलको सिकाो यहाँ उतार्न लागि परेको छु’ उनले भने ‘१०–१५ रोपनी जग्गा लिएर व्यावसायिक रुपमा खेती गर्न आँट्नेले २०–२५ हजार रुपैंयाको लागि विदेश भौतारिईरहनु पर्दैन ।’

थोपा सिँचाइका फाइदाहरु

–    पानी कम हुने क्षेत्रमा, भिरालो जमिन, बलौटे माटो भएको जमिन, पहाडी तथा तराई क्षेत्रमा प्रयोग गर्न सकिने ।
–    थोरै पानीबाट धेरै जमिनमा सिंचाइ गर्न सकिने । यसबाट ३० देखि ७० प्रतिशत सम्म पानीको बचत हुन्छ ।
–    झारपात तथा किराको प्रकोपमा कमि आउँछ ।
–    पानीसँगै आवश्यक मलखाद आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । जसका कारण मलखाद एवं औषधी खर्चमा बचत हुन्छ ।
–    थोपा सिंचाईको प्रयोगबाट उत्पादनमा ३० देखि १०० प्रतिशत सम्म वृद्धि हुन्छ ।
–    गुणस्तरिय तथा स्वस्थ उत्पादन हुनुका साथै वातावरणीय प्रदुषणबाट बचाउँछ ।
–    पानी, समय, उर्जा तथा कामदारको खर्चमा बचत हुन्छ ।

थोपा सिँचाइका लागि उपयुक्त तरकारी : गोलभेँडा, खुर्सानी, भेंडे खुर्सानी, काउली, बन्दा, प्याज, भिण्डी, भन्टा, लौका, फर्सी, करेला, काँक्रो, मटरकोसा, सागपात, आलु, अदुवा, बेसार, लसुन आदि ।

थोपा सिंचाइबाट हुने पानीको बचत र उत्पादन वृद्धि
बिरुवाको नाम    पानीको बचत (प्रतिशतमा)    उत्पादन वृद्धि (प्रतिशत)
गोलभेँडा             ४२            ६०
भिण्डी             २५             ३५
आलु              ४०–६०           २०–३०
भाण्टा             ४०–६०            २०–३०
उखु               ५०             ९९
अनार              ४५             ४५
बदाम              ४०             १४२
अंगुर              ४८             २३
काँक्रो              ५६             ४८
खुर्सानी             ६८              २८
काउली             ६८              ७०
केरा              ४५             ५२
आँप              ३०–४०           ६०–७०

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter