• Tuesday, May 20, 2025

ट्रान्सफर्मरमा बढी भार पर्दा जताततै समस्या

 electrical-transformator-11kV-36kV.jpg_200x200

(रमेश लम्साल)

काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ मा बसोबास गर्दै आउनु भएकी रिता लामिछानेले खाना पकाउँदै गर्दा एक्कासी विद्युत् गयो । इन्धनको अभावभएपछि राइस कुकरमा खाना पकाउँदै गर्दा विद्युत् गएसँगै एक्कासी ठूलो आवाज आयो । नजिकै रहेको ट्रान्सफर्मर जलेको रहेछ ।

“खाना पकाउने ग्यास पनि पाइँदैन, बढी भार भएर ट्रान्सफर्मर पनि जल्छ । अब कसरी बाँच्ने होला हामी ?” दुई वटा छोरीलाई दालमोठ र चिउरा खुवाएर विद्यालय पठाउँदै गरेकी लामिछानेले दुखेसो पोख्नुभयो । उहाँले भोग्नु भएजस्तै पीडा आम नेपालीले यतिखेर भोग्दै आएका छन् ।

भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यास आयात हुन नसक्दा अधिकांश गृहिणीले विद्युतीय सामग्रीको प्रयोग गरेर खाना पकाउने गरेका छन् । तर कम क्षमताका ट्रान्सफर्मरका कारण राजधानीका अधिकांश स्थानमा समस्या पैदा भएको छ । नेपाल विद्युत् प्राधिकरणले ५० केभीए क्षमतादेखि २०० केभीएसम्मका ट्रान्सफर्मरमार्फत विद्युत् प्रवाह गरिरहेको छ । तर एक्कासि भार बढी हुँदा ट्रान्फर्मर जल्ने, फ्यूज जल्ने तथा प्रसारण लाइनमा नै समस्या देखिने गरेको छ ।

राइस कुकर, माटोको हिटर, इन्डक्सन चुलो, माइक्रो ओभन, विद्युतीय जगजस्ता विद्युतीय सामग्री अत्याधिक प्रयोग हुँदा प्रसारण लाइनमा समेत बढी भार पर्ने गरेको र ट्रान्सफर्मरमा समस्या पैदा हुने गरेको छ । खाना पकाउने ग्यासको अभाव हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक्कासि ३५ देखि ४० प्रतिशत भार थपिएको छ । सोको मात्रा सहरी क्षेत्रमा बढी रहेको छ । काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा एक्कासि भार बढ्दा रु १० करोड भन्दा बढीको ट्रान्सफर्मरमा समस्या आइसकेको छ ।

जताततै समस्या
खाना पकाउने समयमा अत्यधिक विद्युत् प्रयोग हुँदा काठमाडौँका अधिकांश वितरण केन्द्र्रमा कम्तिमा चार वटा र बढीमा दश वटासम्म ट्रान्सफर्मर जल्ने गरेको छ । कुलेश्वर वितरण केन्द्रका प्रमुख थिरकुमार खत्रीले आठ वटा ट्रान्सफर्मर पछिल्लो दश दिनमा जलेको राससलाई जानकारी दिनुभयो ।

यस्तै सो वितरण केन्द्रअन्तर्गत १६ स्थानमा केवल जलेको र एमसिभीले पनि काम गर्न छाडेको छ । अत्यधिक समस्या आएपछि स्थानीयलाई पर्चा बनाएर खाना पकाउने समयमा चार बजेदेखि आठ बजेसम्म बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन अनुरोध गरिएको तथा पानी तान्ने मोटर, फ्रिज नचलाउन आग्रह गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।

सो वितरण केन्द्रअन्तर्गत पर्ने बलम्बुलगायत स्थानमा विगत एक सातादेखि ट्रान्सफर्मर जलेका कारण स्थानीय जनता समस्यामा परेका छन् । हेटौँडाको भण्डारणमा रहेको ट्रान्सफर्मर पनि इन्धन अभावमा आयात गर्न सकिएको छैन ।

महाराजगन्ज वितरण केन्द्रका प्रमुख सतिसकुमार कर्णले दीपावलीपछि सात वटा ट्रान्सफर्मर जलेको जानकारी दिनुभयो । उहाँले असन्तुलित विद्युत् भारलाई मिलाउने र ट्रान्सफर्मरको सुरक्षा गर्ने प्रयत्न गरिएको उल्लेख गर्दै साँझ तथा बिहान खाना पकाउने समयमा कमभन्दा कम विद्युतीय सामग्री प्रयोग गर्न स्थानीयबासीलाई आग्रह गरेको बताउनुभयो ।

कीर्तिपुर वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले इन्धन सङ्कटपछि दुई वटा ट्रान्सफर्मर जलेको र १९ वटामा समस्या आएको जानकारी दिनुभयो । सो वितरण केन्द्रअन्तर्गत १३६ वटा ट्रान्सफर्मर रहेकामा भार बढी हुँदा थप समस्या आउने भन्दै कसरी समाधान गर्न सकिन्छ त्यसतर्फ आफूहरु लागेको उहाँको भनाइ छ ।

कम क्षमताको १५ केभीएदेखि २०० केभीएका ट्रान्सफर्मरमध्ये फर्पिङमा छिटफुट मात्रै समस्या आएपनि कीर्तिपुरमा सबैभन्दा बढी समस्या आएको जानकारी दिँदै उहाँले साँझको समयमा पानी तान्ने मोटर र फ्रिज नचलाउन अनुरोध गरिएको बताउनुभयो ।

ट्रान्सफर्मर शाखाका प्रमुख राजेन्द्रकुमार चौधरी बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्न नै भ्याइनभ्याइ भएको बताउनुहुन्छ । “सामान्य समयमा दैनिक दुई वटा ट्रान्सफर्मरको मर्मत गर्ने गरेकामा हाल दैनिक १० वटा बिग्रेको ट्रान्सफर्मर आउने गरेको छ” उहाँले भन्नुभयो ।

बिग्रिएका ट्रान्फर्मर बनाउन र पुनःप्रयोगका लागि पठाउन समस्या भइरहेको र मर्मत गर्न १२ दिनसम्म लाग्ने गरेको चौधरी बताउनुहुन्छ । निजी क्षेत्रलाई पनि मर्मतमा सहभागी गराइएको जानकारी दिँदै उहाँले विद्युत्को माग बढी हुँदा एकै पटक भार बढी हुँदा समस्या बढी भएको हो ।

प्राधिकरणले साँझ बिहानको समयमा कम विद्युत् प्रयोग गर्ने सामग्री प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी अधिकृत मुकेशराज काफ्ले एकै स्थानमा बढी भार पर्दा प्रसारण लाइन र ट्रान्सफर्मरमा बढी समस्या आउने गरेका कारण विद्युत् प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्नुहुन्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter