नयाँ संविधान नेपालको इतिहासमा कोशेढुङ्गा–बेलायती राजदूत
काठमाडौँ, मङ्सिर । सभामुख ओनसरी घर्ती र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच गत २३ गते शिष्टाचार भेटवार्ता भएको छ ।
सो अवसरमा राजदूत रिचार्डले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा दुई देशबीचको आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको संसद सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदुतले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान निर्माण नेपालको इतिहासमा कोशेढुङ्गा सावित भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा परेको भूकम्पको महाविपत्तिका बेला आठ करोड पाउन्ड जम्मा गरी भूकम्पपीडितलाई पठाएको जानकारी गराउँदै जनतालाई राहत प्रदान गर्न र पुनःनिर्माणमा सहयोग गर्न बेलायत तयार रहेको बताउनु भयो ।
उहाँले बेलायत र नेपालबीचको कूटनीतिक सम्बन्धको २०० औं वर्षगाठका अवसरमा नेपालको संसदीय टोलीलाई भ्रमणका लागि बेलायतले निम्तो दिने तथा नेपालको संसद र बेलायतको संसदबीच भ्रमण आदानप्रदान गर्दै लैजानुपर्ने र यसले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने धारणा व्यक्त गर्नुभयो । रासस