व्यावहारिक शिक्षा अहिलेको आवश्यकता – प्रधानमन्त्री
December 15, 2015 | 8:58 pm    
बनेपा, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा व्यावहारिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दीक्षित विद्यार्थीले शैक्षिक प्रमाणपत्र ग्रहण गरेर मात्रै पुग्दैन । शिक्षालाई व्यवहारमै उतारेर सार्थक बनाउनुपर्छ ।” विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यवहारमा कार्यान्वयन हुने शिक्षाबाट मात्रै मुलुकको आवश्यकता पूरा हुने बताउनुभयो । मुलुकमा विद्यमान अथाह स्रोतको परिचालन नहुँदा मुलुक पछि परेको उहाँको भनाइ थियो । “शिक्षा मानव सभ्यतालाई उन्नत र सार्थक बनाउन केन्द्रित हुन जरुरी छ, त्यसैले आफूले सिकेको ज्ञान र सीप मातृभूमिका लागि समर्पित गर्नुहोला” – दीक्षितहरुमाझ प्रधानमन्त्रीले भन्नुभयो । रासस