विषादि प्रयोगबाट वार्षिक साढे तीन लाखको मृत्यु
काठमाडौँ, ७ पुस । बाली संरक्षण निर्देशनालयले साताव्यापी विषादि प्रयोगमुक्त सप्ताह कार्यक्रम–२०७२ को आयोजना गर्ने भएको छ ।
निर्देशनालयले आज हरिहरभवनमा पत्रकार सम्मेलनको आयोजना गरी यही पुस ८ गतेदेखि १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विषादिमुक्त सप्ताह मनाउन लागेको हो ।
‘घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौँ’ भन्ने नाराका साथ सुरु हुन लागेको कार्यक्रममा रु छ लाख खर्च गरिने निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले जानकारी गराउनुभयो ।
साताव्यापी कार्यक्रममा निर्देशनालयले क्रमशः प्रभातफेरी, सन्देश प्रकाशन, एफएम रेडियो, विभिन्न टेलिभिजन, नेपाल टेलिकमबाट सूचना प्रवाह, सडक नाटक तथा आठ जिल्ला इलाम, काभ्रे, धादिङ, प्युठान, बाँके, अर्घाखाँची, कैलाली र बर्दियामा विशेष कार्यक्रमको आयोजनागरी मनाउन लागिएको हो ।
गत वर्षको तथ्याङ्कअनुसार नेपालमा कीटनाशक १३८ टन, रोगनाशक १६४ टन, झारनाशक १०१ टन र अन्य सात टन गरी ४१० टन विष आयात भएको तथ्याङ्कमा देखिन्छ ।
विषादि आयातका लागि गत वर्ष रु ५७ करोड खर्च भएको छ । नेपालमा अधिकांश विषादि भारत र चीनबाट आयात हुँदै आएको छ । संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ ।
विश्वमा विषादिकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ । एक अध्ययनअनुसार प्रतिदिन कृषिमा संलग्न ७०० व्यक्तिको मृत्यु कुनै न कुनै रुपमा विषादीसँग जोडिएको र आत्महत्या गर्नेमा ३१ प्रतिशत विषादिकै कारणबाट हुने गरेको बताइन्छ ।
सन् १९५२ मा नेपालमा मलेरिया नियन्त्रण गर्न विषादि भित्र्याइएको तथ्याङ्क छ । पछि क्रमशः कृषि उत्पादनको वृद्धि गर्न रासायनिक विषादीको प्रयोग हुँदै आएको छ । नेपालमा सबैभन्दा धेरै तरकारी बालीमा प्रतिहेक्टर एक हजार ६०५ ग्राम विषादी प्रयोग हुँदै आएको छ ।
नेपालमा करिब एक हजार ४०० थरीका विषादि पञ्जीकृत गरिएको भए पनि क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई निषेध गरिएको छ । रासस