रु साढे सात अर्बको खिम्ती दुई आयोजना
जिरी, १० पुस । रु सात अर्ब ५० करोड लगानीमा पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाडौँले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित एक कार्यक्रममा संस्थाले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताएको छ ।
जिरी नगरपालीकाको– ८ मा निर्माण हुने आयोजनाबाट जिरी नगरपालिका (साविक जिरी र ठूलोपातल) र हावा गाविसका साथै रामेछापको रस्नालु गाविस प्रभावित हुने भएको छ । आयोजन निर्माण कार्यमा कुनै बाधा तथा अवरोधको सामाना गर्नु नपरे ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७७ साल सम्ममा काम पूरा हुने र २०७८ सालबाट विद्युत् उत्पादन कार्य सुरु हुने संस्थाले जनाएको छ । आयोजना निर्माणको लागि सरकारसँग विद्युत् बिक्री खरिद सम्झैता समेत गरिसकेको छ । आयोजना निर्माणमा सहयोग गर्न र संस्थामा सेयर लगानी गर्न सम्बन्धित सबैलाई संस्थाका उपाध्यक्ष एवम् पूर्व सहायकमन्त्री देवबहादुर पौडेलले अनुरोध गर्नुभयो । पहिलो चरणमा प्रभावित गाविसका स्थानीयवासीलाई सेयर लगानीमा प्रथामिकता दिने र दोस्रो चरणमा जिल्लाका विभिन्न गाविसका स्थानीयवासीलाई प्रथामिता दिने पौडेलको भनाइ छ । रासस