मधेसको भावना बुझेर समस्याको समाधान खोज्नुपर्छ ः उपसभापति पौडेल
December 27, 2015 | 8:11 pm    
पाल्पा, १२ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको बताउनुभएको छ । ‘‘ओलीजी मधेस विरोधी भएकै कारण अहिलेको समस्या समाधान हुन नसकेको हो’’ नेपाली काँग्रेस पाल्पाले तानसेनमा राखेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता पौडेलले भन्नुभयो ।
सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उहाँले नेपाली जनताले धेरै दुःख पाइसकेको र अबका दिनमा यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकलाई सङ्कट आइपर्दा काँग्रेस नै अगाडि सर्नुपर्ने भएकाले मधेसको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै उपसभापति पौडेलले भन्नुभयो, ‘‘अहिलेको समस्या समाधान गर्न तराईका जनताको भावनालाई काँग्रेसले प्रतिनिधित्व गर्दै बुझ्न सक्नुपर्दछ ।’’
संविधान संशोधन गरेर भए पनि तराईको समस्या समाधान गर्न पौडेलले आग्रह गर्दै सीमाङ्कन, जनसङ्ख्या र समानुपातिकका कुरा काँग्रेसले उठाउँदै आएको जिकिर गर्नुभयो । रासस