चिनियाँ व्यापारी रुद्राक्ष खोज्दै भोजपुरमा
भोजपुर, १८ पुस । यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ ।
रुद्राक्ष नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दैआएको एक वनस्पति फल भएकाले गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ ।
विगत वर्षमा भारतीय बजारमा निर्यात हँुदै आए पनि केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार राम्रो हुन थालेपछि रुद्राक्ष उत्पादक किसान र कारोबार गर्ने व्यापारीले राम्रो बजार भाउ पाउन थालेका छन् । तर गतवर्षको तुलनामा यसपाली भने रुद्राक्षको कारोबारमा केही गिरावट आएको बताइएको छ ।
तैपनि चिनियाँ रुद्राक्ष व्यापारी गाउँ घरसम्म पुगेर किसानसँगै रुद्राक्ष कारोबार गर्न थालेपछि उनीहरुले खुसी व्यक्त गर्ने गरेको रुद्राक्ष व्यापार गर्दैआएका व्यापारी हरि भित्रिकोटीले बताउनुभयो ।
‘भारतीय बजारमा मात्र रुद्राक्षको व्यापार राम्रो फस्टाएको थियो केही वर्षयता चिनियाँ क्षेत्रमा राम्रो व्यापार भएसँगै अमेरिका, जापान, थाइल्यान्डका साथै सबै अन्तर्राष्ट्रिय बजारमा रुद्राक्षको व्यापार व्यवसाय फस्टाउँन थालेको भन्नुहुन्छ’ षडानन्द नगरपालिका– १ निगुरेका दीपक भुजेल “साइज मिलेको र हेर्दा आकर्षक रुद्राक्ष भोजपुर र सङ्खुवासभालगायत पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको छ ।
यसको व्यापार विश्वव्यापी बन्दै जान थालेपछि किसानको महत्वपूर्ण आम्दानीको स्रोत समेत बन्दै आएको छ ।
यद्दपि रुद्राक्ष कारोबार व्यवस्थित नभएको गुनासोले इलाका प्रशासन र नगरपालिकाले व्यवस्थित गर्ने र बिना अनुमति कारोबार गर्नेको सामान जफत गर्ने निर्णय गरेको छ । विशेषतः रुद्राक्ष धार्मिक र वैज्ञानिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ ।
दिलाबजारका तोयानाथ गौतम भन्नुहुन्छ ‘रुद्राक्ष धार्मिक रुपमानै प्रयोग गरिन्छ एक मुखेदेखि २१ मुखेसम्म श्रीमत् भावगत महापुराणमा वर्णन गरिएको छ । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्को रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ ।
यस्तै जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छ । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा धनकुटा र खोटाङलगायत जिल्लामा बढी पाइन्छ ।
नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइए पनि नेपालको रुद्राक्ष विभिन्न प्रकारको रोगमा समेत प्रयोग गरेको पाइएको छ । यसरी नै धार्मिक सांस्कृितक हिसाबले महत्वपूर्ण मानिने रुद्राक्ष कारोबारलाई व्यवस्थित गर्ने हो भने उत्पादन गर्ने कृषक मारमा पर्ने थिएनन् । रासस