इन्जिनियरलाई साथमा लिएर अब काम अघि बढाउँछु–प्रधानमन्त्री ओली
January 2, 2016 | 8:03 pm    
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका लागि तयार गरिएको प्रतियोगितात्मक ‘नमुना घरको नक्सा प्रदर्शनी’ का विजयीलाई पुरस्कार प्रदान गर्दै उहाँले भन्नुभयो– “हामी यस देशलाई यस्तै अवस्थामा अब लामो समय रहन दिन सक्दैनौँ, एकताबद्ध भएर अघि बढाउछौँ ।”
सम्पूर्ण जनताले अब अधिकार, अवसर, सुरक्षा र सम्मान प्राप्त गर्ने र कुनै भेदभाव नहुने बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पबाट प्रभावित क्षेत्र अहिले सरकारको प्राथमिकतामा भएकाले त्यहाँका जनतामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भूकम्पछिको पुनःनिर्माण र नवनिर्माणमा इन्जिनियरको सर्वाधिक काम हुने भएकाले इन्जिनियरलाई साथमा लिएर दु्रतगतिमा काम गरिनेछ उहाँले भन्नुभयो ।
परामर्शदाताको नाममा विदेशीलाई गुहार्ने प्रवृत्तिलाई अन्त्य गरेर स्वदेशी विज्ञलाई नै जिम्मेवारी दिनेमा सरकार दृढ रहेको रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “हाम्रो आत्मविश्वास मर्न हुँदैन, जुन देशको जनता निराश हुन्छ सबैभन्दा दुर्भाग्य त्यहाँ निम्तिन्छ, त्यसैले आत्मविश्वास र आशावादीका साथ अघि बढ्न सबैसँग आग्रह गर्दछु ।” रासस