बागलुङ, २० पुस । सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ ।
कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लबप्रसाद अधिकारीकाअनुसार बिहुँमा रहेका साढे चौध हजार सुन्तलाका बोटमध्ये योवर्ष ६ हजार बोटमा सुन्तला फलेका छन् । एउटै बोटमा ५० देखि ५०० किलोसम्म सुन्तला फल्ने गरेको बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलको भनाइ छ । कँडेलले आफुले ९० क्विन्टल सुन्तला बिक्री गरेको बताउनुभयो ।
“सुन्तला बिक्र गरेर रु चारलाख आम्दानी भयो” उहाँले भन्नुभयो । बिहुँमा अहिले प्रतिकिलो सुन्तला रु ३० मा बिक्री हुने गरेको छ । किसानको बोटबाट उठाउने व्यापारीले बजार क्षेत्रमा लगेर सुन्तला बेच्ने गर्छन्् । यहाँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँं, चितवन, बुटवल, पोखरासम्म पुग्ने गरेको छ । कतिपय व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् ।
बिहँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका ठाउँका किसानले व्यावसायिक रुपमै सुन्तलाखेती गर्दैआएका छन् । एउटै घरबाट १०० क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुने गरेको कृषि कार्यालयले जनाएको छ । बिहुँमा बेमौसममा समेत सुन्तला बेच्नको लागि भण्डारण केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।
अहिले प्रतिकिलो रु ३० मा बिक्री भएको सुन्तला चैत÷वैशाखमा रु ८० सम्ममा बिक्री हुन्छ । जिल्लामा दुई हजार मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको अधिकृत अधिकारी बताउनुहुन्छ । यो वर्ष गत वर्षको तुलनामा जिल्लामा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादनमा ह्रास आएको छ । रासस