हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटियो
(अच्युत रेग्मी)
काठमाडौँ, २४ पुस । कर्णालीको विकट हिमाली जिल्ला हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटिएको छ ।
समुद्री सतहदेखि सबैभन्दा उच्च स्थानमा रहेको हुम्लामा धेरै प्रजातिका जङ्गली जनावर र औषधिजन्यसहितका दुर्लभ वनस्पतिहरु रहेका छन् ।
‘प्रकृतिका साथीहरु’ नामक संस्थाले विगत तीन वर्षदेखि हुम्लाको वन्यजन्तु र वनस्पतिकोे बारेमा अध्ययन गर्दै आइरहेको र वन्यजन्तु र वनस्पतिको अथाह सम्भावना रहेको तथ्य सार्वजनिक गरेको हो ।
संस्थाले पछिल्लो समय जङ्गली चौँरीगाईको बारेमा अध्ययन गरेको छ । नेपालमा ५३ वर्षपछि लोपोन्मुख चौँरीगाई हुम्लामा भेटिएको र यसको संरक्षण चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ । उपल्लो हुम्लाको लिमी गाविसस्थित ग्याउखोला उपत्यकामा अध्ययनको सिलसिलामा दुईवटा जङ्गली चौँरीगाई भेटिएको हो ।
संस्थाका वन्यजन्तु संरक्षण अधिकृत नरेश कुसीले लोपोन्मुख वन्यजन्तु चौँरीगाईको आवश्यक संरक्षण नभए नेपालबाट सधैँलाई लोप हुने खतरा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –“हुम्लामा प्रशस्त मात्रामा वन्यजन्तु छन् तर त्यसको उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेकाले सरकारको चासो हुनुपर्छ ।”
अध्ययन टोलीले जङ्गली चौँरी घरपालुवा चौँरीको तुलनामा कालो, सिङ तिखो र अनुहार कालो हुने गरेको जनाएको छ ।
संस्थाका निर्देशक यादव घिमिरेले जङ्गली चौँरी मासु खान मारिनु र टाउको तिब्बतमा महँगो मूल्यमा बिक्री हुने हुँदा सङ्कटमा परेको बताउनुभयो । गएको १० वर्षमा हुम्लामा मात्रै आठ जङ्गली चौँरी मारिएका छन् ।
मनसुनमा जङ्गली चौँरीको वासस्थानमा घरपालुवा चौँरीलाई चराउँदा उनीहरुको वासस्थानमा समस्या परेको छ । हुम्लामा भेटिएका चौँरीहरु नेपालमै स्थायी रुपमा बस्छन् या नेपाल–तिब्बत बसाइँ सरिरहन्छन् भन्ने यकिन नभएकाले यसको थप अध्ययन गर्नु आवश्यक रहेको संस्थाले बताएको छ ।
अध्ययनकै सिलसिलामा संस्थाले नयाँ प्रजातिको चरा फेला पारेको छ । तिब्बत क्षेत्रबाट नेपालमा आएर बसोबास गरेको ‘तिब्बतीयन लार्क’ नामक चरा भेटिएको हो । यो नेपालमा नयाँ प्रजातिको चरा हो । उक्त प्रजातिको चरालाई स्विडेनका चराविद् पर अलस्त्रोम, भारतका चराविद् डा केएस गोपीसुन्दर, नेपालका डा हेमसागर बराल र सोम जिसीले ‘तिब्बतीयन लार्क’ भनी पुष्टि गरेका छन् ।
यो चीनको तिब्बत, भारतको लद्दाख, सिक्किम र पाकिस्तान क्षेत्रमा ३,२०० देखि ४,६०० मी सम्मको उचाइमा पाइन्छ । सेतो बकुल्ला, ध्वाँसे चिबे, कुक्कु कोइली, मलाहा हुचिल, वायु फ्याल्फ्याले र मङ्गोल राजपुत्रिका नेपालकै उच्च स्थानमा पाइने चरा हुन् ।
अनुसन्धानकै क्रममा लालखुट्टे टिमटिमा प्रजातिको चराको अभिलेखसमेत भेटिएको छ । ग्याउखोला उपत्यकाको च्छो–लाम्ग्योक तालमा लालखुट्टे प्रजातिको चरा भेटिएको अध्ययनमा संलग्न राजु श्रेष्ठले बताउनुभयो ।
नेपालमा हिउँदमा मात्र आउने, बाँकी समय नेपाल बाहिर विताउने मणिटुङ् डक, काली कण्ठ सारस, मङ्गोल राजपुत्रिका, काली कण्ठ चाँचर र हिँउचरी अध्ययनमा भेटिएका छन् ।
सामाजिक, सांस्कृतिक, पर्यटकीय, पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको हुम्लामा तिब्बतीहरु धेरै मात्रामा घुम्न आउने गर्दछन् । हुम्ला स्रोत र साधनले धनी भए पनि राज्यले यसलाई चासो दिन नसक्दा पछाडि परेको स्थानीयवासी मङ्गल लामाले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो –“जनसङ्ख्याको हिसाबमा हुम्ला पछाडि होला तर स्रोत र साधनको दृष्टिले ज्यादै महत्वपूर्ण क्षेत्र हो यसलाई राज्यले विशेष ध्यान दिनु जरुरी छ ।”
जङ्गली चौँरी, चराचुरुङ्गीका साथै हुम्लामा समयसमयमा फुल्ने थरिथरिका फूलहरु, जडीबुटी र विभिन्न किसिमका रुख पाउन सकिन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव गोपालप्रसाद भट्टराईले वन्यजन्तु र वनस्पतिको सम्भावित क्षेत्रका रुपमा रहेको हुम्लालाई संरक्षित क्षेत्रका रुपमा अगाडि बढाउन सरकार लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो – “संरक्षित क्षेत्र स्थापनाका लागि स्थानीय तहका व्यक्तिहरुको लिखित प्रतिबद्धता आउनु आवश्यक छ ।”
भट्टराईले अध्ययन अनुसन्धानका क्षेत्रमा नेपाल पछाडि परेको भन्दै सोही क्षेत्रमा ज्ञान भएका व्यक्तिलाई अध्ययनमा लगाउनु आवश्यक रहेको औँल्याउनुभयो । रासस