पुनःनिर्माणको अभियान माघ २ गतेदेखि – उपप्रधानमन्त्री रायमाझी
January 8, 2016 | 8:58 pm    
काठमाडौँ, २४ पुस । उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले गत वैशाखमा गएको भूकम्पले दलित वर्ग र सीमान्तकृत समुदाय धेरै प्रभावित भएको बताउनुभएको छ ।
समता फाउण्डेसन नामक सामाजिक संस्थाले आज आयोजना गरेको भूकम्पपश्चात् दलित र सीमान्तकृत समुदायको उद्धार कार्यक्रम र भावी रणनीति विषयक एक दिवशीय कार्यशालाको उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रका विकट बस्तीमा बसोवास गर्दै आएका ती समुदायले सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराएको राहत प्राप्त गर्न नसकेको बताउनुभयो ।
उपप्रधानमन्त्री रायमाझीले मुलुकमा भूकम्पलगायत विपत् आउँदा त्यसको उचित व्यवस्थापन तथा दीर्घकालमा गरिने गुरुयोजना बनाउन खाँचो औँल्याउँदै पुनःनिर्माणको अभियान माघ २ गतेदेखि प्रारम्भ गर्न लागिएको जानकारी दिनुभयो । रासस