काठमाडौँ, ५ माघ । माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए ।
त्यस्तै, ५३ आँै मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।
माल्दिभ्सका लागि ना सिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए । नेपालले अब फाइनलमा बहराइनको यु–२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।
खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो । सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकातर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए ।
विश्व फुटबलको बरियतामा माल्दिभ्स दक्षिण एसियाको शीर्ष स्थानमा रहँदै १३१ र नेपाल दक्षिण एसियाको पुछारमा १८६ आँै स्थानमा छ ।
यसअघि, समूहचरणको पहिलो, दोस्रो र तेस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी, श्रीलङ्कालाई १–० ले पराजित र बङ्लादेशसँग पनि बराबरी खेलेको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा सबैभन्दा राम्रो खेलेको माल्दिभ्सले तीन खेलबाट सात अङ्क बनाउँदै समूहको शीर्ष स्थानका साथ सेमिफाइनल प्रवेश गरेको थियो ।
सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा अन्तिम पटक माल्दिभ्सलाई हराएको थियो । त्यसयता प्रत्येक पल्ट नेपालमाथि माल्दिभ्स हावी हुँदै आएको थियो । रासस