पुनःनिर्माण राष्ट्र निर्माणको अभियान ः उपप्रधानमन्त्री थापा
January 19, 2016 | 8:29 pm    
कास्की, ५ माघ । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण राष्ट्र निर्माणको अभियान भएको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रको आर्थिक वर्ष २०७२÷०७३ को अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले नवनिर्माण अभियान चलाएर देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो ।
“भूकम्पले जनधनको क्षतिसँगै साँस्कृतिक, पुरातात्विक संरचना पनि ध्वस्त भएका छन्, भूकम्पले दिएको पीडालाई भुलेर अवसरका रुपमा लिनुपर्छ,” उहाँले भन्नुभयो ।
“भूकम्पप्रभावित ३१ जिल्लामा मात्र नभई देशभरी नै नवनिर्माणको अभियान थाल्नुपर्दछ” “उहाँले भन्नुभयो, “पुनःनिर्माणलाई राष्ट्र निर्माणको अभियान बनाइनेछ ।”
संविधानका केही कमीकमजोरीका बाबजुद देश नयाँचरणमा प्रवेश गरेको बताउँदै मन्त्री थापाले अब आर्थिक विकास, सुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।रासस