बनेपा, ५ माघ । भूकम्पबाट अति प्रभावित कृषकका लागि काभ्रेपलाञ्चोकमा ९० देखि ९५ प्रतिशत अनुदानमा सानो हाते ट्याक्टर (मिनी टेलर) वितरण सुरु गरिएको छ ।
गैरसरकारी संस्था सिमिट नेपालको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले कृषकका लागि ९० र कृषक समूहका लागि ९५ प्रतिशत अनुदानमा ३५ थान हाते ट्याक्टर वितरणको लक्ष्य राखेको बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो ।
वितरण प्रक्रिया सुरु भइसकेको र अबको एक साताभित्र सबै हाते ट्याक्टर वितरण गरिसक्ने बाली विकास अधिकृत जिसीले बताउनुभयो ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिस र गाविसस्तरीय छनोट समितिले गरेको छनोटका आधारमा कृषक र कृषक समूहलाई हाते ट्याक्टर वितरण हुन्छ ।
वितरणका लागि भूकम्पबाट अति प्रभावित क्षेत्र हुनुपर्ने, ट्याक्टरको उपयोगिता, विवादरहित कृषक वा कृषक समूह हुनुपर्नेलगायतका प्रावधान राखिएको जिसीले बताउनुभयो ।
कुल रु १९ लाख २५ हजार बराबरको हाते ट्याक्टर भकुण्डेमा चार, दोलालघाट सात, खोपासीमा पाँच, बनेपामा चार, मङ्गलटारमा ६ थान वितरण गरिने योजना छ । यसअघि पाँचखालमा ९ थान वितरण भइसकेको छ । एउटा हाते ट्याक्टरको बजार मूल्य रु ५५ हजार रहेको छ ।
गैरसरकारी संस्था सिमिट नेपालको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, धुलिखेलले कृषकका लागि थ्रेसर, रिपर, कुटो कोदालोलगायत खनजोत गर्ने र बाली भित्र्याउन आवश्यकपर्ने औजारसमेत वितरण गर्ने जनाएको छ । रासस