होटलको विकृति रोक्न महिलाको गस्ती
(चन्द्रकला भण्डारी)
काँकडभिट्टा (झापा), ७ माघ । झापाको काँकडभिट्टामा स्थानीय महिलाले होटल लजमा हुने विकृति रोक्न सामूहिक गस्ती सञ्चालन गरेका छन् । महिलाको यस्तो सक्रियताले होटलमा हुने देहव्यापार लगायतका विकृति बन्द भएको छ ।
पूर्वी नाका भएको कारण काँकडभिट्टामा होटल लजको व्यवसाय फस्टाउँदो अवस्थामा छ । यहाँ ५०० भन्दा बढी नाम चलेका होटल सञ्चालनमा छन् । तर केही होटलले बिनादर्ता व्यवसाय सञ्चालन गरेर देहव्यापार चलाउन थालेपछि सामाजिक विकृति बढेको थियो । विकृति रोक्न थुप्रै प्रयास गरिए पनि अन्त्यमा महिला नै अघि सरेर गस्ती गर्न थाले । महिलाको यस्तो सक्रियता विकृति रोक्ने अचुक अस्त्र साबित भएको छ ।
मेचीनगर–१० मा जनआवाज, आनन्द, बौद्ध, पूर्वी भानु लगायतका दर्जनभन्दा बढी टोल विकास समितिमा आबद्ध २७ जना महिलाले होटलको विकृति हटाउने अभियानको नेतृत्व लिएका छन् । उनीहरूको अगुवाइ गरेकी छन्–आमा समूह नेपालकी अध्यक्ष चन्द्रा शाही बिमलीले ।
कुनै होटलमा मदिरा खाएर होहल्ला भएको, देहव्यापार हुने गरेको र झैझगडा हुने गरेको सूचना पाउने बित्तिकै एक हुल महिला जुनसुकै समयमा होटल वा लजमा पुग्छन् र कार्बाही अघि बढाउँछन् । महिलाले होटल र लजको नियमित गस्तीसमेत गर्दै आएका छन् । गस्तीमा निस्कँदा उनीहरूसँग महिला प्रहरी साथै रहने गरेका छन् । प्रहरीको साथले गर्दा महिला विकृति रोक्ने अभियान निर्भयसाथ सञ्चालन गरिरहेका छन् ।
आमा समूहको सक्रियताले काँकडभिट्टामा ठूलो परिवर्तन आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँनुहुन्छ । “होटलमा हुने विकृति रोक्ने काम पहिले प्रहरीको मात्र हो भन्ने सोचाइ थियो”, प्रहरी नायब उपरीक्षक अधिकारी महिला समूहको खुलेर प्रशंसा गर्दै भन्नुहुन्छ–“अहिले उहाँहरूको साथले वास्तवमै विकृति–विसङ्गति रोक्न सफल भएका छौँ ।” प्रहरीका अनुसार गत पाँच महिनाको अवधिमा देहव्यापारलगायत होटलमा हुने विकृतिजन्य गतिविधिमा संलग्न १२ जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको छ भने एकजना अभियुक्त जेल चलान भइसकेका छन् ।
महिला नै विकृति रोक्न अघि सर्नुका पछाडि झापाको काँकडभिट्टाको एक होटलमा गत जेठमा बलात्कारपछि युवतीको हत्या भएको घटना जोडिएको छ । त्यसपछि स्थानीय महिला सङ्गठित भएर होटलमा हुने विकृतिविरुद्ध जाइलागेका हुन् । मेचीनगर–१० स्थित सिलोङ होटलमा मजदुरी गर्दै आएकी झापा बिर्तामोडकी मन्दिरा विकको गत जेठ १५ गते होटलभित्र हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो । घटनाका दोषीलाई कानुनी कार्बाही भइरहेको छ । त्यस घटनापछि महिलाले होटलमा हुने विकृति रोक्न अभियान नै चलाएका हुन् ।
विभिन्न टोल विकास समितिमा आबद्ध २७ जना महिलाको भेलाले गत असारदेखि जस्तोसुकै चुनौती झेलेर भए पनि होटलमा हुने विकृति रोक्न अभियान चलाउने निर्णय गरेको आमा समूह नेपालकी अध्यक्ष बिमली बताउँछिन् । “होटलहरूमा अनैतिक क्रियाकलापका घटना बढेको जनगुनासो धेरै पहिलेदेखि आइरहेको थियो”, अध्यक्ष बिमली भन्छिन्–“असारमा होटल मजदुर कल्पना विकको हत्या नै भएपछि हामीले सङ्गठित भएर आमा समूह नेपाल नामक संस्था खोलेर गस्ती सुरु ग¥यौँ ।”
महिलाले होटलमा यौनजन्य अपराधका घटना हुन नदिन प्रहरीको सहयोग लिने गरेका छन् । उनीहरूले होटल दर्ता गरेनगरेको समेत हेर्ने गर्छन् । “थुप्रै होटल बिनादर्ता सञ्चालित रहेछन्”, उनले भनिन्–“राजस्व ठगी गरी बिनादर्ता सञ्चालित होटललाई समेत हामीले दर्ताको दायरामा ल्याउन सघाएका छौँ ।” आमा समूहले होटलमा रहेका कर्मचारीलाई अनिवार्य परिचय कार्ड दिनुपर्ने व्यवस्था मिलाउन बाध्य पारेका छन् ।
उनीहरूले होटलमै पुगेर कार्डमा लेखिएको पद बमोजिमको काम छ छैन भनेर निरीक्षणसमेत गर्ने गरेका छन् । निरीक्षणका क्रममा होटलमा राखिएका महिलालाई बाध्य बनाएर यौनजन्य व्यापारमा लगाउने गरेको फेला परे होटल व्यवसायीलाई समेत कार्वाही अघि बढाउने काम महिला समूहले गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले होटलको गस्ती र दोषी पक्रिने कार्यमा महिला प्रहरी नै पठाइदिने गरेको छ । उनीहरूले काँकडभिट्टामा पाएको सफलताका आधारमा अभियानलाई जिल्लाव्यापी बनाउने योजना सुरु गर्न लागेको बताएका छन् ।
क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष ललित तामाङले प्रहरी, आमा समूह र सङ्घको सक्रियताका कारण काँकडभिट्टाका होटलमा अनैतिक कार्य बन्द भएको बताउनुभयो । उहाँले विशेष गरेर आमा समूहले होटलमा गर्ने गस्तीका कारण अनैतिक कार्य मात्र होइन होटललाई व्यवस्थित गरेर सञ्चालन गर्न र कर्मचारीलाई अनिवार्य परिचय कार्डको समेत व्यवस्था भएको बताउनुभयो । रासस