मिर्गौला माफियाका दिन समाप्त
(राजाराम कार्की)
काठमाडौं, ९ माघ । मुठीभरि पैसा हुनेले मात्र होइन, दैनिक जीवन गुजारा गर्न धौ धौ हुने र गरिखाने श्रमजीवीले पनि मानव शरीरका महत्वपूर्ण अङ्ग प्राप्त गरी नयाँ जीवन पाउने भएका छन् ।
व्यवस्थापिका–संसद्ले मानव शरीरको अङ्ग प्रत्यायरोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि मस्तिष्क मृत्यु भएकाहरुले अङ्ग प्रत्यारोपण गर्न पाउने भएकाले मुठ्ठीभर पैसा नहुँदा पनि मानिस बाँच्न पाउने भएका हुन् ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेलगत्तै नयाँ ऐन बन्ने र मानिसले नयाँ जीवन प्राप्त गर्ने थप सहज बाटो खुला हुने छ । यसअघिका विधेयकमा मस्तिष्क मृत्युको परिभाषा पूर्ण नहुँदा मृत व्यक्तिबाट मानव अङ्ग दान गराउन सक्ने अवस्था थिएन तर नयाँ विधेयकमा मस्तिष्क मृत्युबारे अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था गरिएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको भनाइ छ ।
भक्तपुरकी सुन्तली विक, रुकुमकी रेनु परियार, सिन्धुपाल्चोककी मैना सुनवार लगायत सयौँ महिला अहिले हप्तामा दुई दिन डायलोसिस गरेर बसेका छन् । तिनले अब लामो जीवन बाँच्न चाहेमा उनीहरुका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले प्रत्यारोपणबाट प्राप्त हुने मिर्गौला, कलेजो, फोक्सो, मुटु, आँखा र प्याङ्क्रियाज प्रक्रियाका आधारमा उपलब्ध गराउने छ ।
आप्mनै परिवारका सदस्यले मात्र होइन, दुःखसुखका साथी पतिले समेत मिर्गौला दिन नमानेपछि दैलेखकी पार्वतीले अकालमै ज्यान गुमाउनुपरेको थियो । “केही दिन पहिले काभ्रेपलाञ्चोक बालुवा गाविसकी एक दनुवार्नी मिर्गौला बिक्री गरेर फर्केको स्थानीयवासी दीपक न्यौपानेले जानकारी दिनुभयो । लुकिछिपी मिर्गौला बिक्री हुने गाउँको नामले बालुवा चिनिएको छ ।
मिर्गौला बिक्री गर्ने गाउँका नामबाट दर्जनौँ अखबार, टेलिभिजन तथा सामाजिक सञ्जालले थुप्रै समाचार यहाँ आई सम्प्रेषण गरेको उदाहरण नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति नारायण सापकोटा दिनुहुन्छ ।
बालुवामा मिर्गौला माफिया लुकीछिपी पस्छन्, दलित तथा गरिबहरुलाई पैसाको लोभमा फसाई ललाइफकाई भारत पु¥याउने र मिर्गौला झिकी नेपाल पठाएका थुपै्र उदाहरण रहेकाले अब बालुवा प्रवेश गरी मिर्गौलाको माफियागिरी गर्नेहरुको दिन समाप्त भएको सभापति सापकोटाले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्ले बनाएको मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनले शल्यचिकित्सकले मस्तिष्क मृत्युको घोषणा गर्ने काममा र मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अङ्ग प्रत्यारोपण गर्ने काममा संलग्न हुन पाउँदैनन् भने अङ्गप्रत्यारोपण गर्ने कार्य समानान्तर रुपमा शल्यचिकित्सा गरी एकै पटक गर्नुपर्ने उल्लेख छ ।
मृतकले आफू जीवित छँदै आफ्नो शरीरको अङ्गदान नगर्ने लिखित इच्छा व्यक्त गरे परिवारका सदस्यले मृतकका अङ्गदान गर्न पाउने छैनन् । मस्तिष्क मृत्यु घोषणा भएका मानिसको अङ्ग झिक्ने, झिकिएका अङ्गलार्ई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई तोकिए बमोजिमको प्राथगमिकता क्रमाअनुसार वितरण व्यवस्था मिलाउने प्रयोजनका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी समन्वय एकाइ तोक्नेछ । सरकारले समन्वय एकाइ नतोकेसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले समन्वय एकाइको काम गर्नेछ ।
अस्पताल वा स्वास्थ्य केन्द्रले व्यक्तिको मस्तिष्क मृत्युको घोषण गरेमा समन्वय एकाइलाई तुरुन्त जानकारी गराउनुपर्ने, मृत्युको घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय एकाइलाई अङ्ग झिक्ने व्यवस्थाका लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउनुपर्ने छ ।
मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको अङ्गप्रत्यारोपणसम्बन्धी क्रियाकलाप भएपछि मस्तिष्क मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ केन्द्र, अङ्गप्रत्यारोपण गर्ने स्वास्थ्य संस्था र मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारका सदस्यलाई सरकारले तोकिए बमोजिमको रकम उपलव्ध गराउन सकिने ऐनमा प्रावधान छ ।
अङ्ग दान गर्न पत्नी, छोराछोरी, धर्मपुत्रधर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजैबज्यै, नातिनातिनी , दाजुभाई, दिदीबहिनी, ठूलो बाबुआमा, काकाकाकी, साना बाआमा, भतिजाभतिजी, सासूससुरा, जेठाजुजेठानी, देउरानी, नन्द, देवरभाउजू, बुहारी, मामामाइज्यू, भान्जाभान्जी, सालासाली फुपूफूपाजु, आमाजू्लगायतले मुख्य मानव अङ्गप्रत्यारोपण गर्नसक्ने ऐनमा व्यवस्था छ । रासस