विवाद आफैँमा खतरनाक होइनन् ः प्रधानन्यायाधीश
January 23, 2016 | 9:06 pm    
काठमाडौँ, ९ माघ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुनै पनि समस्या समयमै समाधान गर्न सकिएमा विवाद आफँैमा खतरनाक नहुने बताउनुभएको छ ।
नेपाल मध्यस्थता परिषद् (नेप्का)को २४ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले विकास, लगानी तथा आर्थिक क्रियाकलापका गतिविधि बढ्दै जाँदा विवाद आउँछन्, विवाद आउँदैमा सबै सिद्धियो भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।
‘‘विवादले नयाँ अवसर पनि लिएर आउँदछन्, यसैले विवादलाई समयमै सहीरुपमा व्यवस्थापन गर्न जरुरी हुन्छ, विवाद समाधानको महत्वपूर्ण विकल्पमध्ये मध्यस्थतालाई संस्थागत रुपमा विकास गर्न जरुरी छ’’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो ।
मध्यस्थकर्ताका निर्णय पनि कहिले काँही अदालत वरिपरी घुमिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले मध्यकस्थाकर्ताका निर्णयलाई कसरी विवादमुक्त बनाउने भन्ने चुनौती छ भन्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले मध्यस्थकर्ता र निर्णयकर्ता (न्यायाधीश) ले एक अर्काका सीमा बुुझ्न जरुरी रहेको उल्लेख गर्दै एक अर्काकाबीचमा थप अन्तरक्रियाको खाँचो छ रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “मध्यस्थता, मेलमिलाप र न्यायलयबीचमा थप सहकार्य आवश्यक छ ।” रासस