‘चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ’–मन्त्री राई
January 25, 2016 | 8:51 pm    
काठमाडौँ, ११ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गरी मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइने बताउनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाली कथानक चलचित्र ‘आवेग’ को अडियो विमोचन गर्दै मन्त्री राईले नेपाली चलत्रित्र क्षेत्रलाई व्यवस्थित गर्नेबारे विगतका दिनमा सरकार र राज्य चुक्दै आएको हुँदा अबका दिनमा सो क्षेत्रलाई प्राथमिकताका साथ व्यवस्थित गरी उद्योगका रूपमा अगाडि बढाइने बताउनुभयो । सञ्चारमन्त्री राईले चलचित्र क्षेत्रलाई अझै विकास गर्न सो क्षेत्रसँग सम्बन्धित कलाकार, निर्माता र सम्बन्धित संस्थाबीच एकता हुनुपर्छ भन्नुभयो ।
पछिल्लो पटक ल्याइएको चलचित्र नीति अलि अपूर्ण भए पनि महत्वपूर्ण भएकाले त्यसको कार्यान्वयनका लागि सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा उहाँले सबै समुदायको अधिकार सुनिश्चित गरी मुलुकमा नयाँ संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनका निम्ति सम्पूर्ण राजनीतिक दल र सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो । रासस