पर्यटक लोभ्याउँदै सामुदायिक वन
(चन्द्रकला भण्डारी)
काँकडभिट्टा (झापा), १३ माघ । जिल्लाका सामुदायिक वनले प्राकृतिक सिमसार र वन्यजन्तुको संरक्षण गरेर आन्तरिक पर्यटक आकर्षित गर्न सफल भएका छन् ।
जिल्लाका ५० वटा वन समुदायमा हस्तान्तरण भइसकेका छन् । तीमध्ये समुदायमा गएका एकदर्जन सामुदायिक वनले आफ्नो क्षेत्रका सिमसार, पोखरी र हरियाली वातावरणलाई पर्यटकीय स्थलको रुपमा विकास गरेका छन् । विगतमा वन पैदावरको मात्र आम्दानी लिइरहेका सामुदायिक वन अहिले पर्यटकीय स्थलको आम्दानी थपिएपछि आर्थिक पक्षमा सुधार आएको छ ।
कनकाई नगरको– ६३४ हेक्टर क्षेत्रफलमा फैलिएको जामुनखाडी सामुदायिक वन पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर मुलुककै नमुना वन बन्न सफल भएको छ । उपभोक्ता समितिले निर्माण गरेको जामुनखाडी पर्यटकीय सिमसार क्षेत्रमा सुविधा सम्पन्न वनभोजस्थल र चिडियाखाना रहेको छ । सुरुमा वनभोज स्थलको पहिचानले चिनिएको जामुनखाडी पर्यटकीय क्षेत्रमा गङ्गा र जमुना नामका दुईवटा ठूला जलाशय छन् भने यहाँ केही वर्षदेखि नौका बिहार र झोलुङ्गे पुल यात्राको सुविधा थपिएको छ ।
जामुनखाडी सामुदायिक वनले पर्यटकीय स्थलबाट वार्षिक रु एक करोड बढी आम्दानी गर्दै आएको वन उपभोक्ता समितिका अध्यक्ष पशुराम गिरी बताउनुहुन्छ । जामुनखाडीमा दैनिक ७०० जना बढी आन्तरिक पर्यटक घुम्नका लागि आउने गरेका छन् । “बर्सेनि दुई लाख ५० हजार बढी आन्तरिक पर्यटक घुम्न आउने गरेका छन्” उहाँले भन्नुभयो । जामुनखाडी सामुदायिक वनले पर्यावरणसँग पर्यटन जोडेर मनग्य आम्दानी लिन थालेपछि जिल्लाका अन्य सामुदायिक वन समेत हौसिएका छन् ।
कनकाई नदीको पूर्वी किनारमा रहेको सुकेडाँगी सामुदायिक वन पर्यटक आकर्षण गर्नेमा अर्को नमुना बनेको छ । सुकेडाँगीले धनुषकोटी धामको प्रचारप्रसार गरी पर्यटकलाई लोभ्याएको छ । जिल्लाको बाँसबारी, थोप्लेविरान, मागुरमाडी, कालिका र खुट्टेडाँगी सामुदायिक वनले समेत चिडियाखाना, नौका बिहार र वनभोजस्थल सञ्चालनमा ल्याएका छन् ।
बाँसवारी सामुदायिक वनमा पार्क, झोलुङ्गे पुल, चिडियाखाना सञ्चालन गरिएको छ । इलाम, मोरङ, सुनसरी र भारतको दार्जिलिङ, सिक्किम, सिलगुढीलगायतका स्थानबाट पर्यटक जाडो मौसममा वनभोज खान र गर्मीमा डुङ्गा सयरका लागि आउने गरेको वन उपभोक्ता समितिका अध्यक्ष गङ्गा ढुङ्गेल बताउनुहुन्छ ।
सामुदायिक वनले पर्यटकीयस्थल घुम्न आउनेलाई प्रवेश शुल्कबापत प्रतिव्यक्ति रु २० देखि रु ५० सम्म तथा वनभोज खान आउने टोलीसित रु ३०० देखि रु एकहजार सम्म शुल्क लिने गरेका छन् । शनिअर्जुनको नमुना सामुदायिक वनभित्र रहेको सहिद स्मृति पार्क पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । यहाँ कछुवा प्रजनन् केन्द्र सञ्चालित छ भने पोखरीमा नौका बिहारको व्यवस्था समेत छ । सामुदायिक वनले पर्यटकीय क्षेत्रबाट प्राप्त भएको आम्दानी पर्यावरणको संरक्षण र गरिबी न्यूनीकरणका लागि खर्च गर्दै आएको जनाएका छन् ।
धाइजनस्थित १५० हेक्टर क्षेत्रफलमा फैलिएको बाँसबारी सामुदायिक वनमा दुर्लभ अजिङ्गर, मयुर, हरिण, दुम्सी, खरायो, अस्ट्रिजलगायतका वन्यजन्तु पालिएका छन् । बाँसवारी वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा शिवाकोटीले रुख काटेर आम्दानी गर्ने पुरानो चलन पर्यटकीयस्थलको विकासले बदलिएको बताउनुहुन्छ । मनग्य आम्दानी हुन थालेपछि उपभोक्ता समितिले पर्यटक लोभ्याउन नयाँनयाँ उपायको खोजी गरिरहेका छन् । वन्यजन्तु हेर्न र वनभोज खान विद्यार्थीको भीड लाग्ने गरेको अध्यक्ष शिवाकोटी बताउनुहुन्छ । यहाँ दैनिक ३०० जना बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।
जिल्लामा सामुदायिक वनले पर्यटकीय विकासको नमुना प्रस्तुत गरेको र सामुदायिक वन समुदायमा हस्तान्तरण भएपछि पर्यटन पर्यावरणको क्षेत्रमा विकास हुन थालेको वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य सङ्गीता थापा बताउनुहुन्छ । रासस