राष्ट्रलाई अहित हुने गरी सम्झौता हुँदैन ः उपप्रम मैनाली
February 2, 2016 | 9:50 pm    
इलाम, १९ माघ । उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा आज बिहान यहाँ रासससँग कुराकानी गर्दै उहाँले अर्काे मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो ।
“वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उहाँले भन्नुभभयो । उहाँले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गर्नुभयो ।
सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उहाँको भनाइ थियो । रासस