भौतिक पूर्वाधारमा एडिबीको सहयोग
काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ ।
कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध्यक्ष वाङ काई झाङले कार्यकक्षमै भेटी पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाउनुभएको हो । सन् २०२२ सम्म नेपाललाई अल्पविकसितबाट विकासशील देशमा पु¥याउनका लागि बैंकले सहयोग गर्ने इच्छा प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री गच्छदारका निजी सचिव तिलक पौडेलले राससलाई जानकारी दिनुभयो । सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्यले बैंकले पूर्वाधार विकासमा सहयोग गर्ने साेंच बनाएको उपाध्यक्ष झाङले उपप्रधानमन्त्री गच्छदारलाई बताउनुभयो ।
सो अवसरमा विभागका आयोजना निर्देशक केशवकुमार शर्माले पूर्वाधार विकासका लागि एक अर्ब अमेरिकी डलर सहयोग माग गरेकामा उपाध्यक्ष झाङले यससम्बन्धी लिखित प्रस्ताव बनाई विधिवत् पेस गर्न सुझाव दिनुभएको थियो । यही चैत ११ गते नेपालको भ्रमणमा आउनुभएका उपाध्यक्ष झाङले छानिएका आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।
चक्रपथ आठ लेनको हुने
आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार पक्की पुललाई पनि आठ लेन बनाउने कार्य सुरु भएको छ ।
मनोहरा, वाग्मती र बल्खुमा आठ लेन ६२ मि चौडाइको चार पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक एक आठ लेनको ६२ मि चौडाइको पक्की पुल निर्माण गरिँदैछ । तीन नदीमा चार वटा आठ लेनका पुल निर्माण हुन लागेको सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो ।
तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरे पनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७.२ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो ।
बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको छ । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी छ । १० वर्षभित्रमा पूरै चक्रपथ आठ लेन, ६२ मि चौडाइ र नौ आकाशे पुलयुक्त हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।
चीनको ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सत्ताइस किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकारले र छ वटा आकाशे पुल सरकारले बनाउनेछ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”– उहाँले भन्नुभयो । रासस