शाकाहारी गाउँ घोषणा
इलाम । इलामको पश्चिमी बाँझो–८ र ९ स्थित माङसेबुङलाई शाकाहारी गाउँ घोषणा गरिएको छ ।
किरात धर्मावलम्बी बसोबास गर्ने उक्त स्थानलाई इलामका सहायक प्रजिअ सुजन फागोले बिहीबार शाकाहारी गाउँ घोषणा गर्नुभयो ।
धुम्रपान, मद्यपान, लागुऔषध, माछामासु सेवन, पशुपक्षी हत्या गर्न नपाइने भन्दै शाकाहारी गाउँ घोषणा गरिएको हो ।
उक्त गाविसको पूर्वमा बेलबोटे, पश्चिममा रतुवा घर्ती दोभान, उत्तरमा नेम्बाङ चोक र दक्षिणमा मजुवा र पाङ्ग्रेधामसम्मलाई शाकाहारी क्षेत्र घोषणा गरिएको स्थानीय नन्द नेम्बाङले जानकारी दिनुभयो ।
सो स्थानमा सशस्त्र द्वन्द्वका समयमा पाँचथर, ताप्लेजुङ, झापा र इलामका विभिन्न गाविसबाट मानिस बसाइँ सरेका थिए ।
करिब एक हजार घरधुरी बसोबास रहेको यस क्षेत्रमा प्रत्येक बुधबार शाकाहारी हाट लाग्ने गरेको छ । किरात चुम्लुङ मुहिङगुम आङ्सिमाङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले शाकाहारी गाउँ घोषणाले वर्षाैंदेखि यस क्षेत्रमा बसोबास गर्ने किरात धर्मावलम्बीको भावनाको कदर भएको बताउनुभयो ।
किरात धार्मिक गुरु आत्मानन्द लिङ्देन र माता पवित्राहाङ्माको बसोबास रहेको माङसेबुङमा प्रत्येक वर्ष गुरुको जन्मोत्सवमा राष्ट्रिय व्यक्तित्व आउने गर्छन् । यस क्षेत्रमा हङकङ, बेलायत, बर्मा, भारत, भुटानलगायत नेपालका विभिन्न जिल्लाबाट मानिस आउने गर्छन् । रासस