संविधानप्रति रचनात्मक सोच जरुरी ः प्रधान न्यायाधीश श्रेष्ठ
December 22, 2015 | 8:25 pm    
भद्रपुर, ७ पुस । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले वर्तमान संविधानप्रति रचनात्मक सोच र विचारको विकास हुनुपर्ने बताउनुभएको छ ।
नेपाल वार एसोसिएसन झापा शाखा स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा जिल्ला अदालत झापाको परिसरमा आज आयोजित बार स्वर्ण महोत्सव वर्ष–२०७२ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको न्याय पद्धतिमा गरिब र शोषित जनताको पहुँच बढाउनसकेमा मात्र देश व्यवस्थित हुने भन्दै न्यायका लागि जनताले सर्वसुलभ तरिकाले लाभ लिन कानुन व्यवसायीको भूमिका अग्रणी रहेको उल्लेख गर्नुभयो ।
नेपाली अखण्ड मन र भौगोलिकतालाई जोगाउन संविधानका विशेषताहरू र अधिकारका बारेमा जनतालाई बुझाउनु अहिलेको आवश्यकता हो भन्दै प्रधान न्यायाधीश श्रेष्ठले संविधानमाथिको राजनीति हट्नुुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रधान न्यायाधीश श्रेष्ठले बार स्वर्णमहोत्सव वर्ष स्तम्भको अनावरण गर्नुका साथै बारको स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा आमरुपमा संस्मरणात्मक लेखहरूलाई समेटी प्रकाशित भएको स्मारिकाको लोकार्पण पनि गर्नुभयो । रासस