आहारा नपाएर गौशालाका गाई मर्न थाले
(गोपालप्रसाद बराल)
बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई भटाभट मर्न थालेका छन् ।
बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सातवटा दूधालु गाई र १५ वटा गाईका बाछाबाछी मरेका हुन् ।
आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षले फर्ममा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन, बासको समुचित प्रबन्ध गर्न नसक्दा चारवटा गोठमा पालिएका गाई, कोरली बाच्छी र स–साना बाच्छाबाच्छी मर्ने क्रम बढेको हो ।
पछिल्लो पटक मधेस आन्दोलनले गर्दा गाई गौशालाको आन्तरिक स्रोतबाट नियमित आउने आम्दानी ठ्याक्कै रोकिएपछि फार्मका गाई खान नपाएर मर्ने र बिरामी हुने क्रम बढेको निगौल गाई गौशाला व्यवस्थापनले जनाएको छ । पछिल्ला दिनमा बास र पौष्टिक आहारको कमीले फार्मका गाई दुब्लाईरहेका छन् ।
निगौल गाई गौशालाका फार्मका ६० वटा उन्नत् जातका गाई, १८ वटा कोरली बाच्छी र अन्य ४२ वटा स–साना बाच्छाबाच्छीसहित १२४ वटा गाईले पछिल्ला चार महिनायता पोसिलो आहार खान र समुचित बास नपाउँदा जीवन–मरणको दोसाँधमा पुगेका छन् ।
नेपाल सरकारको रु एक करोडभन्दा बढी लगानीमा तीन वर्षअघि आधुनिक तरिकाबाट गाईगोठ निर्माण गरी पालिएका १२४ वटा गाईबस्तुलाई दिनको ५०० किलो पौष्टिक आहार चाहिने निगौल गाई गौशालाका व्यवस्थापक शोभाकान्त पाण्डेले बताउनुभयो ।
‘पोसिलो आहार खान नपाएर गाई, कोरली बाच्छी र स–साना बाच्छाबाच्छी दुब्लाएर उठबस गर्न नसक्ने अवस्थामा पुगेका छन्’ व्यवस्थापक पाण्डेले सञ्चारकर्मीसँग भन्नुभयो–‘पराल र घाँसको भरमा मात्र पालिएका बस्तुको के हविगत होस् ?’
निगौल गाई गौशाला फर्मले दिएको जानकारीअनुसार पौष्टिक आहारको अभावमा गाईले जन्माएका बच्चा कमजोर हुने, आमाको दूध नआउने र स–साना बाच्छाबाच्छी आमाको दूध चुस्न नपाउँदा मर्ने गरेका छन् ।
पौष्टिक आहार पहुँच हुँदा फार्ममा पालिएका गाईले दिनको १२५ देखि १५० लिटरसम्म दूध दिने गरेका थिए । तर फार्ममा पालिएका गाईलाई आर्थिक अभावमा पौष्टिक आहारको व्यवस्थापन गर्न नसक्दा अहिले दैनिक १५÷२० लिटरमात्र दूध दिने गरेको व्यवस्थापक पाण्डेले स्वीकार गर्नुभयो । निगौल गाई गौशालाले ठेक्काबाट पाउनुपर्ने रु ६० लाखमा रु नौ लाखमात्र आन्तरिक स्रोतबाट उठेपछि फार्ममा पालिएका गाईलाई पोसिलो आहार खरिद गर्न सकस परेको व्यवस्थापनको ठम्याई छ ।
निगौल गाई गौशालाको आफ्नै पोखरी, व्यापार कम्पलेक्स, आँप र लिच्ची बगैँंचा र खेतीयोग्य जग्गा रहेको छ । ठेक्का लगाइएका यी स्रोतको रकम लामो बन्द र हड्तालले गर्दा उठाउन नसकिँदा पौष्टिक आहार खरिद गर्न नसकिएको व्यवस्थापक पाण्डे बताउनुहुन्छ ।
गाई गौशालाको जग्गामा गौशाला नगरपालिकाले पशुहाट लगाएर ठेक्का लगाई आम्दानी लिइरहेको छ । विगतमा साविकको गौशाला गाविस र निगौल गाई गौशालाबीच कुल ठेक्का रकमको २५ प्रतिशत निगौल गाई गौशालालाई दिनुपर्ने लिखित सम्झौता भएपनि अहिले नगरपालिकाले सो सम्झौता कार्यान्वयन नगर्दा समस्या बढेको निगौल गाई गौशाला व्यवस्थापनको गुनासो छ ।
यता गौशाला नगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमा नभेटिनु भएको र मोबाइल सम्पर्कमा नआउनु भएको हुँदा प्रतिक्रिया लिन सकिएन ।
जिल्लाकै मुख्य धार्मिक सम्पदा मानिँदै आएको निगौल गाई गौशालाको विजोग अवस्थाप्रति सर्वसाधारणले चासो बढाउन थालेका छन् । गाई फार्म व्यवस्थापन, गौशाला नगरपालिका र अन्य सरोकारवालासँग जिल्ला प्रशासनले आवश्यक सोधपुछ र कारबाही गरिदिनुपर्ने गौशाला रजखोरका सामाजिक कार्यकर्ता श्रीराम सुवेदीले बताउनुभयो । रासस