सहरको सुविधा छाडेर गाउँमा कृषि व्यवसाय
खोटाङ, २८ पुस । सेवाबाट अवकाश प्राप्त भएपछि धेरैको सपना हुन्छ, सुविधा सम्पन्न ठाउँमा जाने अनि परिवारसँग सुखसयलका साथ बाँकी जीवन बिताउने । तर, जिल्लाको चिप्रिङ–१ का चतुरमान राईले गाउँ रोज्नुभयो ।
सो¥ह वर्षसम्म सेवा गरेर विसं २०३९ मा बेलायती सेनाबाट अवकाश प्राप्त राई इटहरी छाडी गाउँमै फर्किएर कृषि पेसामा लाग्नुभएको छ । अहिले उहाँ कफी, सुन्तला, लिची, कागती, अलैँंची, रुद्राक्षलगायतका फलफूल तथा विभिन्न प्रजातिका तरकारीखेतीमा व्यस्त हुनुहुन्छ ।
राईले घर वरपर व्यावसायिक रुपमा मौरी पालनसमेत गर्नुभएको छ । सहरको सुखभोगमा बस्नुको सट्टा उहाँ दैनिक बिहानदेखि बेलुकासम्म आफ्नो बगैंँचाको बोटबिरुवा गोडमेल र स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । “सहरमा त्यत्तिकै बस्नुभन्दा गाउँमा केही गरौँ भन्ने सोचले गाउँ फर्केको हुँ,” उहाँले भन्नुभयो “गाउँका किसानको अगुवाइ गर्ने सपना पालेको छु ।”
ढल्कँदो उमेरका राईले इलाम र धनकुटाबाट पाँच दिन लगाएर जिर्मले, गोलसाई, रामसाइ जातको अलैँंचीको बिरुवा ल्याएर ४५ रोपनी जग्गामा लगाउनुभएको भने अन्य पाखो जग्गामा सुन्तलाखेती गर्नुभएको छ । उत्पादन भएको कफी र कागतीको बिरुवा माग्न आउने गाउँलेलाई उहाँले सित्तैमा बाँड्ने गर्नुभएको छ ।
यातायातको असुविधाका कारण आफूले उत्पादन गरेको बन्दा, काउली, गोलभेडालगायतका फलफूल तथा तरकारीलाई बजारसम्म पु¥याउन नसकिएको राईको दुःखेसो छ । बारीमा उत्पादित तरकारी छिमेकीलाई बाँड्ने गरेको राईले बताउनुभयो ।
बेलायती सेनामा नोकरी सकेर गाउँ फर्कनुभएका राई स्वास्थ्यका लागि पनि पहाडमा बसेर पसिना बगाउनु लाभदायक हुने बताउनुहुन्छ । “बेलायत बस्ने अवसरलाई त्यागेर यहाँ आएको हुँ, बाँचुञ्जले गाउँमै श्रम गरेर पसिना बगाउँछु” उहाँले भन्नुभयो । गाउँका किसानलाई खेतीपातीका विषयमा सुझाव सल्लाह दिँदै आउनुभएका राई बिहानै उठ्नुहुन्छ र हातमा कुटोकोदालो लिएर बारीमा पस्नुहुन्छ ।
कम्पोष्ट मल उत्पादन र व्यावसायिक कृषिमा लाग्न जोड दिनुभएका राई पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने जनशक्ति पाउन छाडिएको बताउँहुन्छ । “खेतीकिसानी सम्मानित पेसा हो, तर अहिलेका पुस्ताले यसलाई बुझ्दैनन्,” उहाँले भन्नुभयो, “खेतीपातीको काम गर्ने मान्छै नै पाइन छाडेको छ ।”
गाउँघरका जग्गाबाट अन्नबाली भन्दा फलफुल खेतीबाट आम्दानी गर्न सकिने राम्रो सम्भावना छ । त्यही भएर उहाँले आधुनिक विधि, प्रविधि अपनाएर फलफूलखेती गर्न गाउँका किसानलाई प्रेरणा दिँदै आउनुभएको छ । पछिल्लो समय गाउँमा उहाँको सिको गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । रासस