काठमाडौँ, ३० पुस । गृह मन्त्रालयले भूकम्प प्रभावित पाँच लाख ८५ हजार ६०० परिवारलाई न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले रकम वितरण गरिसकेको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा भूकम्प अतिप्रभावित १४ र प्रभावित नौ जिल्लामा न्यानो कपडाका लागि रु पाँच अर्ब ८५ करोड ६० लाख वितरण भइसकेको विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले जानकारी दिनुभयो । कपडाका लागि रु छ अर्ब पाँच लाख छुट्याइ एकामा थप रु एक अर्ब तीन करोड ३३ लाख १० हजार अपुग रहेको र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत अर्थ मन्त्रालयसँग सो रकमको माग गरिसकिएको मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिनुभयो ।
कतिपय घरपरिवारले परिवार छुट्टिसकेको भन्दै घरधुरी बढाएका कारण पनि राहत वितरणमा केही समस्या देखापरेको उहाँको भनाइ थियो । उहाँले अधिकांश भूकम्पपीडितले कपडा किन्नका लागि रकम पाइसकेको जिकिर गर्दै सुगमलाई भन्दा दुर्गमलाई प्राथमिकता दिएर रकम वितरण गरिएको बताउनुभयो ।
भूकम्पपछि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उद्धार कोषमा जम्मा गरेको रु सात अर्ब १२ करोड ५२ लाख ४८ हजार र अर्थ मन्त्रालयले निकासा गरेको रु १५ अर्ब ५२ करोड ५६ लाख २७ हजार गरी सरकारले भूकम्पपीडितलाई वितरण गरिसकेको छ ।
सरकारले प्रकोपपीडित मापदण्ड २०६४ अनुसार मृतकका परिवारलाई रु ४० हजार, घर पूर्णक्ष् ाति भएकालाई रु पाँच हजार, घर आंशिक क्षति भएकालाई रु तीन हजार, खाद्यान्नका लागि रु दुई हजार तथा मन्त्रिपरिषद्को निर्णयानुसार मृतकका परिवारलाई थप रु एक लाख तथा अस्थायी घर निर्माणका लागि रु १५ हजार प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ ।
गोरखा जिल्लाको उत्तरी भेगमा केही दिनअघि हिउँ परेपछि त्यहाँ ५०० थान ‘स्लिपिङ ब्याग’ वितरण गरिनाका साथै स्वास्थ्यकर्मी समेत परिचालन गरिएको सरकारले जनाएको छ । रासस